धरान : धरानबाट प्रकाशित हुँदै आएको साप्ताहिक ‘प्रबोध’ पत्रिकाका गमबहादुर लम्जेलको असामयिक निधन भएको छ । मुटूरोगी ३९ वर्षीय लम्जेलको सोमवार साँढे ९ बजे राती बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

लम्जेल लामो समय देखि पत्रकारिता, शिक्षण, सामाजिक राजनैतिक क्षेत्रमा उनी सक्रिय थिए । उनले २०५४ देखि झापाको ‘स्वाधीन संवाद’ साप्ताहिक, इलामको प्रतिनिधि भई पत्रकारितामा प्रवेश गरेका थिए ।

२०६८ साल देखि ‘प्रबोध’ साप्ताहिकको सम्पादक थिए । २०७० देखि ‘गुफाथुम्की गर्जन’ मासिक पत्रिका पनि सम्पादन, प्रकाशन गर्दै आएका थिए । २०७५ देखि प्रबोध अनलाइनका निर्देशक थिए ।

२०५५ सालमा पक्राउ परी इलामको मङ्गलवारे हिरासतका ३ दिन थुनामा परेका थिए । उनी २०५५ मा तत्कालीन नेकपा माओवादी निकट अखिल क्रान्तिकारी शान्तिडाँडा गाउँ एकाइ कमिटीका उपाध्यक्ष  थिए ।

२०५६ मा नेकपा माले इलामको सङ्गठित सदस्यता लिएका लम्जेल नेकपा माले हुँदै एकीकृत नेकपा माओवादी केन्द्र सुनसरी जिल्ला सदस्य तथा पाँचकन्या गाउँ कमिटी सह इन्चार्ज रहे । २०७२ यता नेपाल कम्युनिष्ट पार्टी निर्माणको बहस खोज अनुसन्धान तथा साहित्य र पत्रकारितामा संलग्न रहँदै आएका थिए ।

कविशिरोमणि साहित्य साधना समाजको श्रमिक स्रष्टा पुरस्कार-२०७४, दिव्य रोशनी साप्ताहिकको सृजनशील पत्रकारिता पुरस्कार २०७५ बाट उनी सम्मानित भएका थिए ।

आमा कौशिल्या तोलाङ्गी बुबा रेशबहादुरका छोरा लम्जेलकोे छोरा लम्जेलको जन्म २०४१ साल भदौ २८ गते शान्तिडाँडा ४ फटुक इलाम हाल देउमाई नगरपालिका-६ भएको थियो ।