मकवानपुर : काठमाडौँबाट हेटौंडा आउँदै गरेको गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६, जुरीखेतमा ०२-०२७-प ४८४२ नम्बरको स्कुटर दुर्घटना भएको हो। दुर्घटनामा काठमाडौँ महानगरपालिका-२७ की ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

उनका अनुसार स्कुटर दुर्घटनामा राज्यश्री र उनका श्रीमान् ६५ वर्षीय शशीराज पाण्डे घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो।

राज्यश्रीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो। घाइते शशीराजको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

काठमाडौँबाट हेटौंडा आउने क्रममा क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। स्कुटर सडकबाट करिब १०० मिटर तल खसेको थियो।