• अजुर्न काफ्ले

पथरी : रोयल किङ्ग र गोर्खा लिजेण्डले पथरीशनिश्चरे प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छन् । सोमवार दुवै टोलीले जित दर्ता गर्दा क्लासिक इलाभेन हसन्दह र बुद्ध युनाइटेड निराश बने ।

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटमा गोर्खा लिजेण्डले बुद्ध युनाइटेडलाई पराजित गर्दा रोयलले हसन्दहलाई हरायो । सोमबार भएको लिगको दोस्रो खेलमा गोर्खाले बुद्धमाथि ६७ रनको जित निकालेको हो ।

गोर्खाले दिएको १६३ रनको लक्ष्य पछ्याएको बुद्ध १७ ओभर ५ बलमा ९६ रनमा समेटियो । बुद्धलाई सस्तैमा समेट्न गोर्खाका कुमार खड्काले ५ विकेट लिए । 

बुद्धका लागि सतिस यादवले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै भुपेन राईले २१ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।

बलिङ तर्फ गोर्खाका फडिन्द्र पौडेलले २ विकेट लिँदा ज्ञानु श्रेष्ठ र आभास पाहिमले एक एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गोर्खाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रनको सम्मानजनक योगफल बनाएको थियो ।  

गोर्खाका लागि कुमार खडकाले ४५ रनको योगदान दिए । गोर्खाका योगेश श्रेष्ठले २५, समित राईले १७ र ज्ञानु श्रेष्ठले १८ रनको योगदान गरे ।

यता बुद्धका लागि समीर कार्कीले ३ विकेट लिए । त्यस्तै भुपेन राईले २ र सतिस यादव, द्रोण जङ्ग बस्नेत र रोहन गहतराजले समान एक-एक विकेट लिए ।

आजको जितसँगै गोर्खाले लिगमा ४ अङ्क बनाएको छ । सोमबार भएको पहिलो खेलमा रोयलले हसन्दहमाथि २२ रनको जित निकालेको हो ।

रोयलले दिएको १३२ रनको लक्ष्य पछ्याएको हसन्दहले १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११० रन बनाएको हो । 

हसन्दहका लागि अनुप श्रेष्ठले सर्वाधिक ४६ रनको योगदान गरे । त्यस्तै दीपक पासवानले २६ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

बलिङ तर्फ रोयलका दिवस राजवंशी र राज बस्नेतले समान ३ ३ विकेट लिए  । त्यस्तै रोबर्ट राईले  दुई विकेट लिँदा दुई ब्याट्सम्यान रन आउट भए  । यसअघि टस जितेर ब्याटिङ गरेको रोयलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१  रन बनाएको थियो ।

रोयलका लागि रोबर्ट राई र महेश कार्कीले समान ३० रनको योगदान गरे । त्यस्तै राज बस्नेतले २४ रन बनाए । यता हसहन्दका लागि दीपक पासवानले ४ विकेट लिए । त्यस्तै बुद्ध आले मगर र अनुप श्रेष्ठले समान दुई लिँदा विजय राउतले एक विकेट लिए ।

आजको जितसँगै रोयलले लिगमा ४ अङ्क बनाएको छ ।  पराजित हसन्दहले २ खेलमा २ अङ्क जोडेको छ । मङ्गलवारको पहिलो खेल सातवाघ र आइतबारे अस्त्र र दोस्रो खेल वीरेन्द्रनगर र बुद्ध युनाइटेड बिच हुने छ ।