धरान : ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-७ हर्कपुरमा एक घरमा सोमवार साँझ ५ बजे आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुने महिला ३३ वर्षीय कमला गौतम भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भान्सा कोठामा डिजेल प्रयोग गरेर आगो बाल्दा अचानक घरमा आगलागी भएको अनुमान गरिएको छ । आगलागीमा परी कमला गौतमको घटनास्थलमै मृत्यु भएको ओखलढुङ्गा जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

घटनास्थलमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पश्चात् शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल रुम्जाटार पुराइएको छ ।