इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका आर्थिक रूपमा विपन्न परिवारको  निधनमा निःशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री सहित निःशुल्क दाहसंस्कार गर्दै आएको हो ।

यसअघि घरदेखि घाँटसम्म शव वाहन निःशुल्क गरेको यो उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभावमा दाउरा लगायतका सामग्री किन्न आर्थिक समस्या भएकाहरूका लागि बुढी गङ्गा मुक्ति घाटमा निःशुल्क दाहसंस्कार गरिँदै आएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । अहिलेसम्म १०४ जना विपन्नलाई निःशुल्क दाहसंस्कार गरिएको उपमहानगरले जनाएको छ ।

नगरप्रमुख पौडेलले आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूका लागि यस्तो निर्णय गरिएको बताए । उपमहानगरले नागरिकको अन्त्येष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नु अघि नै दाउरा लगायतका आवश्यक सामग्री घाँटमानै निःशुल्क व्यवस्था गरिएको छ मेयर पौडेलले भने ।

नगरप्रमुख पौडेलले कोही नगरवासीको आफन्तजनको मृत्यु हुँदा विपन्न परिवारका लागि इटहरी उपमहानगरले मसान घाटसम्म शव लैजान निःशुल्क रूपमा शववाहन उपलब्ध गराउँदै आएको छ । तर, दाहसंस्कार गर्न दाउरा किन्ने पैसा नभएर टायरमा जलाएर अन्त्येष्टि गर्नुपरेको खबर सुन्दा तथा देख्दा त्यो अवस्थाको अन्त्य गर्न मृतकका परिवारलाई दाहसंस्कार निःशुल्क गरिदिएको हो   ।

इटहरी २० वटै वडामा कोही कसैको मृत्यु हुँदा अन्तिम संस्कारका लागि शववाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने गरेको छ ।

जन्म र मृत्यु स्वाभाविक प्रक्रिया हो । मृत्यु अहिलेसम्म कसैले रोक्न सकेको छैन । मानिसको मृत्यु पछि मृतक शरीरलाई सबै धर्मावलम्बीहरूले आ-आफ्नै तरिकाले व्यवस्थापन गर्ने गर्दछन् ।

मृत्यु पश्चात् गरिने शव व्यवस्थापनमा ठुलो धनराशि खर्च पनि हुने गरेको छ । तर विपन्न वर्गले भने शव व्यवस्थापन गर्दा पनि ऋण खोज्नुपर्ने बाध्यता छ । भनेको समयमा ऋण नपाउँदा कतिपय अवस्थामा मृतक शरीरलाई व्यवस्थापन गर्न समेत कतिपय परिवारलाई ठुलै समस्या हुने गरेको छ ।