धरान : घाँस काटिरहेको बेला बारीको रुखमा रहेको अरिङ्गालले चिल्दा इलाम-१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ ।

घाइते अवस्थामा झापाको बिर्ता सिटी अस्पताल ल्याइएकोमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम-१२ का ३० वर्षीय सन्तोष लिम्बु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

अरिङ्गालले चिलेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बुको उपचार भइरहेको छ । यामबहादुर र उनको ज्वाइँ सन्तोष छिमेकीको बारीमा मङ्गलवार बिहान ८ बजेको समयमा भुईघाँस काटिरहेको बेला त्यहीँ रहेको चिलाउनेको रुखमा भएको अरिङ्गाल आएर चिलेको हो ।

उनीहरू दुबैलाई घाइते अवस्थामा इलाम जिल्ला अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल ल्याइएकोमा मङ्गलवार राती एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।