धरान : इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले मङ्गलवार वराहक्षेत्रमा निषेधित लागु औषध बिक्री गर्ने र किन्ने ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औषधि बिक्रेता ५० वर्षीय विनय चौधरी र उनको छोरी २१ वर्षिया शुभेच्छा चौधरी छन् । औषधी किन्न वराहक्षेत्र-८ का २१ वर्षीय रोमन नेपाली र वराहक्षेत्र-३ का २१ वर्षीय विधान राईलाई पनि पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट निषेधित औषधी हाइड्रोक्लोराइड एण्ड फेनिलेफ्राइन हाइड्रोक्लोराइड एन्टिकोफ ट्याब्लेट ११८१ र ३४ क्याप्सुल साथै म्याद गुज्रिएको झोल औषधी २० थान, क्रिम १९ थान र क्याप्सुल, ट्याब्लेट ६५ वटा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी महेन्द्रनगरले थप अनुसन्धान गरिरहेका छ ।