दमक : पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम दमकमा पनि सञ्चालन भएको छ ।

आज र भोली दुई दिन सम्म सञ्चालन हुने अभियानको आज वडा नम्बर १ को खोप क्लिनिकमा नगर प्रमुख राम थापाले फाल्गुनन्द चौकका आब्यान भट्टराईलाई औषधि खुवाएर शुभारम्भ गरेका थिए ।

खोप कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख थापाले सबै बालबालिकालाई औषधि खुवाई स्वास्थ्य राख्न आग्रह गरे । अहिले बालबालिकालाई औषधि खुवाइए भविष्य स्वस्थ बन्ने भन्दै उनले सरकारले ल्याएको कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिए ।

दमक नगर भित्र रहेका २५ वटा खोप केन्द्र र १० वटा आधारभूत स्वास्थ्य केन्द्र मार्फत औषधि खुवाइने उनले बताए ।

आज र भोली सञ्चालन गरिने कार्यक्रममा दमक नगर भित्रका ८ हजार बालबालिकालाई औषधि खुवाउने लक्ष राखिएको उनले जानकारी दिए ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नगर स्वास्थ्य शाखा प्रमुख भट्टराईले सबै अभिभावकहरूलाई अनुरोध समेत गरेका छन् ।