विराटनगर : आउँदो तिहार, दीपावली लगत्तै आउने छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित नहर सफाइ गरेको छ ।

छठ पर्वको लागि व्रतालुहरूबाट सूर्यको उपासना गर्ने घाटको रूपमा उक्त नहर उपयोग हुने भएकाले पर्व आउनु अघि नै सरसफाइ गरिएको हो । छठ पर्व मङ्सिर ३ गते पर्छ ।

सर सफाइको कार्य मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थचन्द्र न्यौपानेको उपस्थितिमा नहरको गरिएको छ ।

वडा ११ स्थित उक्त नहरको डिल र आसपासको क्षेत्रमा छरिएका प्लास्टिक, झार र अन्य फोहोर सङ्कलन गरेर व्यवस्थापन गरिएको हो ।

छठ पर्वमा पूजा गर्न आउने भक्तजनको सहजताका लागि नहर सफा गरिएको वडाध्यक्ष तीर्थचन्द्र न्यौपानेले जानकारी दिए । सर सफाइमा वडाका जनप्रतिनिधि, स्थानीय बासी, समाजसेवी लगायतले नहर सफाइमा सघाएका थिए ।