इटहरी : विपद् व्यवस्थापनको क्षेत्रमा अब्बल रहँदै आएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा २० गोताखोर थप भएका छन् । कोशी प्रदेशको बराह वाहिनी मुख्यालयले गोताखोर तालीम सम्पन्न गरेसँगै विपद् व्यवस्थापनका जनशक्ति थप भएका हुन् ।

यसअघि नेपाल भर ७४ जना मात्र दक्ष गोताखोर रहेको अवस्थामा अब त्यसको सङ्ख्या ९४ पुगेको छ । २ जना नेपाल प्रहरीका र १८ जना सशस्त्र प्रहरीका जवानले गोताखोर तालीम प्राप्त गरेका छन् । कोशी प्रदेश सरकारको सहयोगमा बराह बाहिनीले गत भदौ १७ गते आइतबार बाट सुरु गरेर दक्ष जनशक्ति थप गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकार विपद् व्यवस्थापनको क्षेत्रमा गम्भीर भएर लागि परेको बताएका छन् । मानव जीवन बचाउनको लागि प्रदेश सरकार तल्लीन रहेको बताउँदै उनले सशस्त्र प्रहरी सँगको समन्वयमा काम भइरहेको बताए ।

बाढी तथा डुबानमा काम गर्दै आएको सशस्त्र प्रहरीले अपर्याप्त जनशक्ति र उपकरणको अभावका बिच गत आर्थिक वर्षमा ६२२ घटनामा १५३८ जनाको उद्धार गरेको थियो । चालु आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

हालसम्म देशभरिबाट ३२ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ । जीवितै उद्धारको सङ्ख्या बढाउनको लागि गोताखोर तालीम सम्पन्न गरिएको बाहिनी पति प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले बताए ।

नेपालको भौगोलिक बनोटको कारण विपद्को जोखिम बढी भएको उनको भनाइ छ । २०६९ साल सम्म बङ्गलादेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उनले अब नेपालको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान दिइएको बताए ।

Gotakhor koshi