इटहरी : कोशी प्रदेश सरकारमा केन्द्रीय गठबन्धनले निरन्तरता पाएको छ ।

शुक्रवार मन्त्रीपरिषद् विस्तार गर्दै मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा एसलाई सरकारमा सहभागी गराएका हुन् ।यससँगै कोशी प्रदेश सरकारमा ५ सदस्यीय मन्त्रीमण्डल भएको छ । थप भएका दुई मन्त्रीले शुक्रवार साँझ शपथ ग्रहण गरेका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले विना छलफल गठबन्धनका सांसदलाई मन्त्री बनाएका हुन् ।

माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सांसद गणेश उप्रेती र नेकपा एसबाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् । जबेगु यसअघि पनि उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शमशेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । चारै मन्त्रीहरूको कार्य विभाजन भने अझै भएको छैन ।

Mantri List