धरान : तेस्रो संस्करणको ‘ओटाकु फेस्टिबल’ आज इटहरीमा आयोजना हुँदैछ । फेसन मेड्युल, सेफुङ कलेक्सन र हिमालयन बुकस्पेसको आयोजना रहने फेस्टिभललाई क्यानेडियन सेन्टर इटहरीले मुख्य प्रायोजन गरेको छ ।

इटहरीस्थित नेवा भवनमा आज (कार्तिक १८ गते शनिवार) बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म आयोजना हुने फेस्टिबलमा जापनिज एनिमेका पात्रहरूको पहिरनमा सजिएर सहभागीहरू कस्प्ले, फोटोसुट, फ्यान आर्ट र फुड प्रतियोगितामा सहभागी हुँदै छन् । ड्रागन बल, नारुटो, वान पिस, डेथनोट, पोकिमोन विश्व चर्चित एनिमेहरु हुन् ।

फेस्टिबलमा पब्जी मोबाइल टुर्नामेन्ट र लाइभ पर्फमेन्स समेत हुँदै छ । कार्यक्रम भव्य हुने आयोजक फेसन मोड्युलका सञ्चालक दिपेन लिम्बूले बताए । उनले प्रदेश नं १ का झापा, मोरङ, सुनसरी जिल्ला साथै काठमाडौँ र अन्य जिल्लाका पाँच सय बढी मानिस फेस्टिबलमा सहभागी हुने अनुमान गरिएको जानकारी दिए ।