धरान : कर्णाली प्रदेशको जाजरकोट, रुकुम जिल्लामा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा कोशी प्रदेशबाट उद्धार, राहत, स्वास्थ्य उपचार सहितको लागि संघ, संस्था, नागरिक समाज जुट्न मुख्यमन्त्री केदार कार्कीले आव्हान गरेका छन् ।

प्रदेश सरकारबाट १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले ठुलो मानवीय, आर्थिक तथा भौतिक क्षति भएको प्राकृतिक प्रकोपमा मानवीय व्यवस्थापनको क्षेत्रमा प्रदेशबाट हुने सहयोगमा आवश्यक समन्वय र सहकार्य कोशी प्रदेश सरकारबाट भइरहने प्रतिबद्धता जाहेर गरेका छन् ।

कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राती गएको भूकम्पमा हिजो सम्मको सरकारी तथ्याङ्क अनुसार १५७ जनाभन्दा बढीको मृत्यु भएको छ । घाइतेको सङ्ख्या ३७५ जना पुगेको छ ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा धेरै क्षति भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पपछि साना परकम्पहरू आसपासको क्षेत्रमा गएको थियो ।

प्रभावित क्षेत्रमा अहिले सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तिनै निकायका सुरक्षाकर्मीहरू उद्धार र राहत कार्यमा जुटेका छन् । घाइतेका उद्धार उपचारका लागि हेलिकोप्टर पनि परिचालन गरिएको छ ।

जाजरकोटको भूकम्प अति प्रभावित क्षेत्रमा भूकम्प प्रभावितहरू घर बाहिर बसिरहेका छन् । स्थानीय प्रशासनले कम्तीमा २४ घण्टा घरबाहिर बस्न आग्रह गरेकाले उनीहरू बाहिर बसेको बिबिसीले एक समाचारमा उल्लेख गरेको छ । सम्भावित परकम्पहरूलाई ध्यानमा राखी घर बाहिर बस्न आग्रह गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार भूकम्पमा पसेकाहरूको उद्धार र खोजमा ८ प्लाटुन प्रभावित क्षेत्रमा खटिरहेका छन् । सुर्खेतमा रहेको हेलिकोप्टर पनि उद्धार तथा खोजमा केन्द्रित छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार अहिलेसम्म सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको विवरण आएको छ ।

KapuriNews-Koshi-Sarkar-Ear