इटहरी : इटहरी उपमहानगरपालिकामा वृद्धि भएको कर तथा राजस्व घटाउनुपर्ने एमालेको माग छ । कार्यपालिकामा बहुमत रहेको एमालेले यस विषयमा पार्टीको औपचारिक धारणा पनि सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाले पनि एमालेबाट निर्वाचन वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीलाई संयोजक बनाएर समायोजन समिति गठन गर्‍यो । विज्ञ सहितको समितिले समय सीमाभित्र प्रतिवेदन बुझाउन सकेन । त्यस बिचमा कार्यपालिका बैठक नबसेको कारण समितिको समय थप भएन । अन्ततः सुवेदीले मात्र हस्ताक्षर गरेर राजस्व परामर्श समितिकी संयोजक समेत रहेकी उपमेयर सङ्गीता चौधरीलाई प्रतिवेदन बुझाए ।

करिब तिन महिना पछि कात्तिक २ गते मेयर हेमकर्ण पौडेलले कार्यपालिका बैठक बोलाए । एमालेले दाबी गरे अनुसार सो बैठकको कार्यसूचीमा कर समायोजन प्रतिवेदनको विषय परेको थियो । बैठक सुरु भएको केही समयमै मेयर पौडेलले बैठक स्थगित गरे । त्यसपछि उपमेयर सङ्गीता चौधरीले आपत्ति जनाइन् । दशैको दुई दिन अगाडी मात्र भएकाले सबैको ध्यान दशैतर्फ मोडियो ।

महिनामा एक पटक बैठक राख्नुपर्ने कानुनी मान्यता विपरीत दुई महिनामा मात्र बोलाएको बैठक पनि पुरा नबसेको एमालेको आपत्ति थियो । एमालेले भोलीपल्ट अर्थात् ३ गते कार्यपालिका बैठक सम्बन्धमा मेयर पौडेलको ध्यानाकर्षण गरायो । कार्यपालिका स्थगित भएपछि एमालेका १७ जना कार्यपालिका सदस्यले विजया दशमीको बिदा सकिएको मितिले अर्थात् कात्तिक १० गतेको ४८ घण्टा भित्र कार्यपालिका बैठक राख्न अनुरोध गरे । प्रमुखले बैठक अध्यक्षता गर्न नसके उपप्रमुख सङ्गीता चौधरीलाई बैठक बोलाउनु पर्ने उनीहरूको माग थियो ।

तर दसैँ सकिएर तिहार आउनै लाग्दा समेत कार्यपालिका बैठक बस्न सकेको छैन । उपमेयर चौधरीले पनि कार्यपालिका बैठक बोलाउने आँट गर्न सकेकी छैनन् । मेयर भएकै बखत उपमेयरले कार्यपालिका बोलाउने कानुनी व्यवस्था छैन । कार्यपालिका बोलाउने भन्दै एमालेले दिएको धम्कीले कुनै प्रभाव परेन । यसअघि पनि एमालेले गरेका विरोध र अवरोधहरू यसै गरी निश्प्रभावी बनेका छन् ।

कर समायोजन गर्नुपर्ने माग राख्दै नेकपा एमालेले साउन १९ गते पत्रकार सम्मेलन गर्‍यो । नगर अध्यक्ष यामकुमार सुब्बाले कर बढेको विषयमा एमाले पनि जिम्मेवार रहेको बताउँदै र जनतासँग क्षमा मागेर आन्दोलन जारी राख्ने धारणा राखेका थिए । तर त्यसयता कुनै पनि महत्त्वपूर्ण आन्दोलन भएका छैनन् । बरु एमाले ४ नम्बर वडा अध्यक्ष सुनिल कार्कीले व्यक्तिगत रूपमा कर समायोजनको माग राख्दै बारम्बार खबरदारी गरिरहेका छन् ।

यस अघि एमाले १६ नम्बर वडा कमिटीले मेयर सँग मिलेमतो गरेको भन्दै आफ्नै कार्यपालिका सदस्य प्रमोद शेर्पालाई कारबाहीको लागि सिफारिस गर्‍यो । आन्तरिक एकता कायम गर्न नसकेको एमालेलाई मेयर पौडेलले आफ्नो हितमा प्रयोग गरिरहेका छन् । मेयरलाई रिझाउने कि बिझाउने भन्ने बारे एमालेमा दुई मत छ । त्यसको प्रत्यक्ष फाइदा मेयर पौडेललाई परिरहेको छ ।