विराटनगर : इलामको रोङ गाउँपालिका वडा नम्बर ३ कोलबुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ ।

गत मङ्सिर १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिए ।

सडकबाट करिब ३ सय मिटर तल झरेर दुर्घटना भएको सो कार डेढ महिनादेखि दुर्घटना स्थलमै रहेको र शनिवार लिन जाँदा जलाएको अवस्थामा भेटिएको उनले जानकारी दिए ।

इलामबाट झापातर्फ आउँदै गरेको बी एए १६९२ को कार दुर्घटना हुँदा ५२ वर्षीय कारधनी पोखरेलसहित ५७ वर्षीय राजकुमार पौडेल, विराटनगर–२ का २४ वर्षीय अर्जुन महर, झापा दूधेका मनोज राईसहित ५ जना घाइते भएका थिए ।

प्रहरी चौकी हर्कटे इलामका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतको टोलीले दुर्घटनामा परेकाहरूको उद्धार गरी उपचारका लागि झापास्थित वीएण्डसी अस्पताल पठाएको थियो ।

उपचारपछि कारधनी पोखरेल घर फर्किएका थिए । नेपाली काँग्रेस विराटनगर महानगर समितिका सहसचिवसमेत रहेका पोखरेलले कार जलाउनेलाई पक्राउ गरी कारबाही गर्न मागसमेत गरेका छन् ।