वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई तीव्र बनाएको छ। बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो ।

अत्यावश्यक खाद्यवस्तुको गुणस्तरीयता,  मूल्य दिनहुँ जसो उकालो लागेको, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।

नगरपालिकाको अनुगमन टोलीले सोमवार वडा नं ६ चक्रघट्टि बजारमा रहेका खाद्यान्न किराना पसल, हार्डवेयर, होटेल, कपडा पसलहरूको अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई जरिवाना गरिएको थियो । उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।

अनुगमनले व्यापारीहरूलाई सचेतना र उपभोक्ताहरूको अधिकारको सुनिश्चित हुने उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठले बताए ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी,उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण सुनसरीका कर्मचारी, उपभोक्ता मञ्चका प्रतिनिधि,नेपाल प्रहरी , नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।