धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा नै ठप्प हुने गरी भइरहेका आन्दोलन आज सोमवार भएका भएको लिखित सहमतिमा स्थगन गर्ने निर्णयलाई धरानका ५ राजनीतिक दलहरू संयुक्त रूपमा स्वागत गरेको छ।

प्रतिष्ठानका चिकित्सकहरू र कामु उपकुलपति प्रा.डा.प्रल्हाद कार्की सहित कार्यकारिणी समितिका पदाधिकारीहरू बिच भएको वार्तापछि सहमति भएपछि आन्दोलन स्थगित भई चिकित्सकहरू काममा फर्किएका छन् ।

यसैगरी आजै प्रतिष्ठानका कर्मचारीहरूको बढुवा, वृत्ति विकासका प्रक्रिया पनि चिकित्सकहरूका प्रक्रिया सँगै गरिने कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकाल सहितसँग कार्यकारिणी पदाधिकारीहरूले लिखित सहमति गरेको छ ।

उक्त दुवै सहमतिले प्रतिष्ठानको विकास र स्वास्थ्य सेवामा नयाँ गति थप्ने विश्वास सहित राजनीतिक दलहरूले सकारात्मक रूपमा लिएको संयुक्त प्रेस वक्तव्य मार्फत जनाएको हो । वक्तव्यमा भनिएको छ ‘आन्दोलनरत पक्ष र बिपी प्रतिष्ठान व्यवस्थापन पक्ष बिच सौहार्दपूर्ण वार्ताबाट भएको सहमतिलाई राजनीतिक दलहरूले सकारात्मक रूपमा लिएको जनकारी गराँउदछौं ।’

पछिल्लो समय प्रतिष्ठानका शिक्षक, कर्मचारीको बढुवा वृत्ति विकासको लागि भएको आन्दोलनलाई राजनीतिक दलहरूले गम्भीरता पूर्वक लिएर सङ्घीय सरकार, प्रतिष्ठानको व्यवस्थापन र आन्दोलनकारीसँग समस्याको निकासका लागि पटक पटक वार्ता, छलफल भएको उल्लेख गर्दै वक्तव्यमा त्यसैका परिणाम स्वरूप आज आन्दोलनरत पक्ष र व्यवस्थापन बिच सहमति भएको उल्लेख गरिएको छ।

प्रतिष्ठानलाई थप गतिशील र प्रभावकारी बनाउन स्थानीय राजनीतिक दलहरूबाट प्रतिष्ठानलाई ‘छाता ऐन’मा लैजानबाट जोगाउन राजनीतिक दलहरूले केन्द्रीय तहमा गरेको पहलकदमीको कारण प्रतिष्ठानका शाख जोगिएको स्मरण गराइएको छ ।

प्रतिष्ठानको लागि दलहरूले गर्नुपर्ने कार्यहरू निरन्तर गरिरहने प्रतिबद्धता जनाउँदै आन्दोलनको क्रममा सेवाग्राहीहरूलाई पुग्न गएको असुविधाप्रति राजनीतिक दलहरू गम्भीर ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख छ । भनिएको छ ‘आगामी दिनमा आन्दोलन नै गर्दा पनि सेवाग्राहीलाई असर पुर्‍याउन नहुने कुरा चिकित्सक, कर्मचारी वर्गका अनुरोध गर्दछौँ ।’

संयुक्त वक्तव्यमा नेपाली काँग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष रेवती रमण राईले हस्ताक्षर गरेका छन् ।

dal-ko-pr