धरान : भूकम्पको ठुलो जनधनको विनाशपछि पीडितहरू उद्धार र राहत पर्खिरहेका बेला जाजरकोटमा सोमवार अर्को शक्तिशाली पराकम्प गएको बिबिसीले जनाएको छ ।

दिउँसो साढे ४ बजेतिर बारेकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएको हो । पराकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस भएको थियो । पराकम्पको धक्काले थप घरहरू भत्किएको र केही मानिसहरू घाइते भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यस क्षेत्रमा शुक्रवारको भूकम्पपछि ३०० वटाभन्दा बढी परकम्पहरू गइसकेका छन् । केन्द्रले भने यो पराकम्प ४ म्याग्निच्युटको चौथो ठुलो पराकम्प भएको जनाएको छ । गत: शुक्रवार राति सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले उक्त क्षेत्रमा पराकम्पले थप क्षति भएको बताएको बिबिसीले एक समाचारमा उल्लेख गरेको छ । पराकम्पले केही घरहरू भत्किएको केही मानिसहरू घाइते भएका छन्। एक बच्चा गम्भीर घाइते भएको गिरीले बताए ।

भूकम्पका कारण घर बाहिर बसिरहेका मानिसहरू थप शक्तिशाली पराकम्प गएकोले आतङ्कित भएका छन् । उनीहरू भयभीत भई घरभित्र पस्न सक्ने अवस्था नभएको गाउँलेले बताएका छन् । विनाशकारी भूकम्पपछि पराकम्प रोकिए जस्तो भएको थियो । पीडितहरू घरका भग्नावशेषबाट सामानहरू निकाल्न थालिरहेको बेला अर्को शक्तिशाली पराकम्प गएको हो ।

निरन्तरको परकम्पले त्रास बढिरहेको र मानिसहरू घर देख्दा डराउने अवस्थामा पुगेका छन् । उनीहरूले राहतको सामाग्री नपाएको बताएका छन् ।