वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.६ र ९ स्थित कोशीपारि श्रीलङ्का टप्पुमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना भएको छ । मङ्गलवार जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सरोकारवाला निकाय र नागरिक बिच सार्वजनिक सुनुवाइ आयोजना भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख रमेश कार्की, जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगर उपप्रमुख नन्दकुमारी सुनुवार, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, वडा नं.६ का अध्यक्ष उद्बब प्रसाद पोखरेलले स्थानीयहरूको गुनासो प्रश्न तथा जिज्ञासाको जबाफ दिएका थिए ।

स्थानीयहरूले टप्पु कटान नियन्त्रण, टप्पुमा प्रहरी चौकी, माध्यमिक विद्यालय, सुविधाजनक अस्पताल, कृषिमा बीउ बिजक, विद्यालयमा जनशक्ति, बिधुतको भोल्टेजको समस्या, नागरिकता प्राप्त गर्ने प्रावधान, कानुनी प्रमाणहरू, सुरक्षाको विषयमा प्रश्न राखेका थिए ।

स्थानीयहरूले राखेको प्रश्नको जवाफ दिँदै नगर प्रमुख कार्कीले टप्पुमा प्रहरी चौकी निर्माण गर्ने कार्यमा आफू लागि परेको बताए । कार्कीले भन्ने प्रहरी चौकी र टप्पुमा मतदान केन्द्रको लागि काम अगाडि बढेको छ । आगमि शैक्षिक सत्रदेखि स्थानिय जनता आधारभूत विद्यालयमा कक्षा ९ सञ्चालन गर्ने र अन्य विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि जनशक्तिको व्यवस्थापनमा नगरपालिका लागिपर्ने कार्कीको भनाई छ । कोशीमा झोलुङ्गे पुलको काम अगाडि बढेको र कोशी कटान नियन्त्रणको लागि प्रदेश र सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराई राखेको कार्कीले बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले टप्पुमा प्रहरी चौकी र मतदान केन्द्र बनाउने काम अगाडि बढेको बताइन् । टप्पुको सुरक्षा र आपराधिक कार्य नियन्त्रणका लागि प्रशासनले काम गरिराखेको उनको भनाई रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की रहेका थिए ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपनिरीक्षक लेकेश कुमार तुम्बाम्फे, राष्ट्रिय अनुसन्धानका तिलक प्रसाद शर्मा,  ट्राफिक प्रहरी सुनसरी प्रमुख सुभाष थापा, गैरसरकारी संस्था महासङ्घ सुनसरीका अध्यक्ष मेघराज न्यौपाने, आरेक नेपाल सुनसरीकी प्रमुख बिमला घिमिरे लगायतको उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी र वराहक्षेत्र नगरपालिकाको सहकार्य रहेको थियो ।

srilanka tappu sunuwai2