इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट नीति तथा कार्यक्रमको प्राथमिकतामा डायलाइसिस, आइसियु र भेन्टिलेटर सेवा सुरु गर्ने उल्लेख छ । चालु आर्थिक वर्षमा डायलाइसिस, आइसियु र भेन्टिलेटर सहित इटहरी अस्पताललाई सुविधा सम्पन्न बनाउने कार्यक्रम आएको हो ।

उपमहानगरले बजेट सार्वजनिक गरे लगत्तै इटहरी अस्पतालमा डायलाइसिस मेसिन जडान भइसकेको थियो । रोटरी क्लब अफ इटहरीले ६७ लाख बराबरका ३ वटा मेसिन जडान गरेको ६ महिना पुरा भएको छ । लामो समयको प्रयास पछि जडान भएको मेसिन अहिले आएर प्रयोग विहीन भएका छन् ।

गत असार १२ गते इटहरी उपमहानगरलाई हस्तान्तरण भएको मेसिन प्रयोगमा नआएपछि इटहरीका बिरामीहरू धरान र विराटनगर धाउन बाध्य छन् । मेसिन हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ इटहरीका चेतन धमलाले वर्तमान मेयर हेमकर्ण पौडेलले कुनै समस्या आए आफै सामना गर्ने बाचा दिएको बताएका थिए ।

सुरुवातमा प्राविधिक जनशक्तिको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहयोग लिने मौखिक सम्झौता भएको उनले जानकारी दिए । तर मेयरले गरेको प्रतिबद्धता अनुसार अहिलेसम्म मेसिन सुचारु हुन सकेन । जडान भएर थन्किएको मेसिनले बिरामी पाएको छैन ।

इटहरी अस्पतालका प्रशासन प्रमुख दामोदर गौतम आफूलाई पूर्ण जानकारी नभएको बताउँछन् । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुन्जन त्रिताल मेसिन सञ्चालनमा देखिएको समस्या बारे आफू अनभिज्ञ भएको बताए । यस विषयमा उपमहानगरपालिकाको स्वास्थ्य शाखालाई सोध्नुपर्ने उनको भनाइ छ ।

इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिनेश चौधरी डायलाइसिसलाई हचुवाको भरमा सञ्चालन नहुने बताए । डायलाइसिसको लागि आइसियु र ब्लड बैङ्क पनि अनिवार्य हुनुपर्ने भएकाले हालको दरबन्दीमा रहेका जनशक्तिले यो सबै सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जनशक्ति माग गरिएको विषयमा अहिले कुनै पनि थप कुरा भएको जानकारी दिए । उनले भने, ‘नयाँ बिल्डिङ बनेपछि केही हुन्छ होला । भोली डायलाइसिस सुरु भएर कुनै बिरामी तलमाथि भए त्यसको जिम्मेवारी कसले लिने । यो एकदम चुनौतीपूर्ण काम हो । डायलाइसिसको लागि आइसियु, ब्लड बैङ्क नभई कसरी सञ्चालन गर्नु । खासमा त्यस हिसाबको जनशक्ति नभएर पनि रोकिएको हो ।’

itahari-hospital-dialysis