धरान : तिहारको हाराहारीमा नेवार समुदायले पारिवारिक रूपमा मनाउँदै आएको धार्मिक, सांस्कृतिक पर्व म्हः पूजा यसपालि पहिलो पटक धरानमा सामूहिक रूपमा आयोजना गरिने भएको छ ।
मिसा दबुले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल संवत् ११४४ नयाँ वर्ष कछलाथ्व पारु तिथि तदनुसार कार्तिक २८ गते मङ्गलवार सामूहिक म्हः पूजा हुने जानकारी दिएको हो ।
नेवाः मिसा दबू, सुनसरी जिल्ला समिति, नेवाः ल्याम्ह दबू जिल्ला समिति र नेवाः मिसा दबू धरान नगर समितिको संयुक्त रूपमा आयोजना सामूहिक म्हः पूजा हुने भएको हो । संयोजक लक्ष्मी प्रधानले भनिन् ‘यो कोशी प्रदेशमा हुने पहिलो पटक सामूहिक म्हः पूजा हो ।’
सामूहिक म्हः पूजामा ५० जनाको सहभागिता रहने छ । सहभागिता बापत दर्ता शुल्क ५ सय रुपैयाँ राखिएको उनले बताइन् । पूजा धरान-७ सिद्धि नेवाः परिषद्को खुल्ला प्राङ्गणमा हुनेछ ।
नेवाः परम्परामा यो विशेष पर्व धरानमा छरिएर बसोबास गरेका नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी गराउने उद्देश्य राखिएको बताइएको छ ।
म्हः पूजा परिवारका सदस्यहरू भेला भई आ-आफ्नो मण्डल अगाडि बसेर आफूले आफैलाई पूजा गर्ने प्रचलन हो । यसलाई यसपालि नेवाः समुदाय भित्रका परिवार बिचमा सामूहिक बनाउन आयोजना गरिएको बताइएको छ । पूजामा सहभागीहरू मध्ये ज्येष्ठताको आधारमा क्रमशः मण्डल अगाडि बसेर ससम्मान पूजा गर्ने तयारी गरिएको छ ।
प्रदेशमा नै पहिलो पल्ट सामूहिक म्ह: पूजा कार्यक्रमले नेवाः परम्परा भित्रको विशेष पर्वको बारेमा धरान भित्र छरिएर बसोबास गरिरहेका सम्पूर्ण नेवारहरूलाई एकै थलोमा भेला गराई यसको महत्त्व र विधिका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको संयोजक प्रधानले बताइन ।
कार्यक्रमको प्रवर्द्धन धरान उपमहानगरपालिका र नेवाः देय दबू धरानले गरेको । व्यवस्थापकमा नेवाः सांस्कृतिक उत्थान मञ्चले गरेको बताइएको छ ।
म्हःपूजाको भनेको के हो ? 
म्हः पूजाको अर्थ शरीरको पूजा हो । विद्वानहरूले म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भनेका छन् । ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको छ ।
म्ह पूजा किन गरिन्छ ?
मानव जीवनमा सबै भन्दा बहुमूल्य कुरा मानिसको शरीर हो । शरीर स्वास्थ्य, स्वच्छ, पवित्र भएमा कुनै पनि दुःख हुँदैन । स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यता म्हः पूजाको पाइन्छ।