उर्लाबारी : मोरङको उर्लाबारी -७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर गम्भीर स्वास्थ्य समस्या देखिएकाहरूको उपचारमा कोसी प्रदेश सरकारले समन्वय सुरु गरेको छ ।

राति स्थानीय दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना  घाइते भएका छन् ।

आगोको लप्काले शरीर जलेर गम्भीर घाइते भएकाहरूको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  काठमाडौँ लग्नुपर्ने घाइतेको लागि अस्पतालसँग कोसी प्रदेश सरकारले समन्वय सुरु गरेको मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

"यहाँका अस्पतालहरूसँग समेत समन्वय गरेर उपचारमा कुनै कसर बाँकी नराख्न भनेका छौँ, काठमाडौँको बर्न अस्पतालमा पनि कुराकानी भई रहेको छ," कार्कीले भने,"चिकित्सकको सल्लाह अनुसार क-कसलाई सङ्घीय राजधानी लाग्ने अथवा यतै उपचार गर्ने निर्णय हुनेछ ।" कार्कीले अस्पतालहरूमा रहेका घाइतेको उपचारमा समस्या हुन नहुनेमा प्रदेश सरकार संवेदनशील रहेको बताए ।‌

घाइतेहरूको बिएन्डसी अस्पताल बिर्तामोड,न्युरो आर्या विराटनगर, विराट नर्सिङ होम विराटनगर, रेडप्लस अस्पताल विराटनगर, लाइफलाइन अस्पताल दमकमा र गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ ।‌