काठमाडौँ : नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद डा. सुनिलकुमार शर्माले नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अङ्कुश लगाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो सरकारले प्रतिबन्ध लगाउनु लोकतन्त्रमा नागरिकको “अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता” माथि अङ्कुश लगाएको प्रतिक्रिया दिएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै उनले सरकारको निर्णयको विरोध गरेका हुन् ।

सांसद शर्माले भने, “प्रचण्ड सरकारको यो चरम तानाशाही र अधिनायकवादीशैली हो, नेपाललाई उत्तर कोरिया सम्झने सरकारको गलत मनोवृत्ति हो । यसको म घोर आपत्ति र भर्त्सना गर्दछु ।” उनले सूचना तथा सञ्चारको प्रयोग र मिडियामाथि अङ्कुश लगाउने कार्यमा सरकार उद्धत भएको बताए ।

“अहिलेको प्रविधिको युगमा कोही कसैले सूचना प्रविधिको गलत प्रयोग गरेको भए त्यसलाई ऐन कानुन निर्माण गरेर पनि नियमन र निरुत्साहित गर्न सकिन्छ । तर, टिकटक बन्द नै गर्नु लोकतन्त्रको उपहास हो ।” उनले भने । सांसद शर्माले नागरिकको अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रताप्रति सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए ।

नागरिकको मौलिक हक अधिकारमाथि प्रतिबन्ध लगाएर सरकारले हतोत्साहित गर्न खोजेको हुँदा सरकारको निर्णयले प्रजातन्त्र र लोकतन्त्र कमजोर बन्ने टिप्पणी गरेका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिएर नागरिकको मौलिक हक अधिकारको प्रत्याभूत गर्नुपर्ने उनको भनाई छ ।