चतरा : नेपालमा पहिलो पटक भएको स्टोन स्किपिङ पानी सुल्के खेल प्रतियोगितामा राहुल लिम्बुले पानीमा हानेको ढुङ्गा २३ पटक उफारेर प्रथम स्थान हासिल गरेका छन् । उनले पहिलो चरण पार गरी दोस्रो चरणमा २३-२२-१४ को सेटमा कुल ५९ अङ्क प्राप्त गरी प्रथम भएका हुन ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार पानीमा ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा विश्व रेकर्ड बनाएका छन् । उक्त रेकर्ड अहिले सम्म तोडिएको छैन ।

राहुल लिम्बुले वराहक्षेत्र नगरपालिका वडा १ स्थित सुनसरी मोरङको मूल नहरमा मङ्गलवार आयोजित स्टोन स्किपिङ प्रतियोगितामा कायम गरेको २३ पटकको रेकर्ड नेपालको पहिलो हो । नेपालमा पहिलो पटक भएको उक्त खेलको औपचारिक प्रतियोगिता चतरा हाइकिङ ग्रुपले आयोजना गरेको हो । 

प्रतियोगितामा राजेन्द्र कार्की दोस्रो र सञ्चार कर्मी लक्ष्मण कटुवाल तेस्रो भए । प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका राजेन्द्र कार्कीले कुल ३० अङ्क प्राप्त गरे । तेस्रो बनेका लक्ष्मण कटुवालले २८ अङ्क प्राप्त गरेका थिए ।

प्रतियोगिता दुई चरणमा भएको थियो । पहिलो चरणमा एउटा ढुङ्गाले पानीमा कम्तीमा तिन पटक उफार्न सफल प्रतियोगी दोस्रो चरणको खेलमा सहभागी हुन पाउने व्यवस्था थियो । दोस्रो चरणमा पुग्ने खेलाडीलाई तिन वटा ढुङ्गा उपलब्ध गराइएको थियो । पानीमा तिन पटक फालिएको उक्त ढुङ्गाको जम्मा उफ्राई जोडेर विजेता घोषणा गरिएको हो ।

विजेताहरूलाई प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका, वडा १ अध्यक्ष किसन थापा एवं वडा २ का अध्यक्ष होम प्रसाद गौतम, वडा ५ अध्यक्ष रोहित काफ्ले, मुख्य निर्णायक ज्ञान बहादुर पाण्डेले प्रथम, दोस्रो र तेस्रो पुरस्कार राशि नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रमाणपत्र र मेडल प्रदान गरे ।

आयोजक हाइकिङ ग्रुपका संस्थापक, संयोजक भीषण राईका अनुसार नेपालमा स्टोन स्किपिङ खेलको औपचारिक प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । खेलले युवा सशक्तीकरण, मेलमिलाप र आपसी सद्भाव बढाउने विश्वास गरिएको छ ।

बृहत् वराहक्षेत्रको पर्यटन प्रवर्द्धन गर्न खेलको आयोजना गरिएको हो । प्रतियोगितामा चतरा, बयरबन, चक्रघट्टी, कालाबन्जार र सुदूर पश्चिम लगायत स्थानबाट करिब ७५ जना प्रतियोगी थिए ।

नेपालको गाउँघरमा बालबालिका, किशोरवयकाहरूले नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेल्ने परम्परागत यो खेल ‘स्टोन स्किपिङ’ अमेरिका, आयरल्यान्ड, स्कटल्यान्ड लगायत देशमा ठुलो प्रतियोगिताको रूपमा खेलिँदै आएको आयोजक समितिका युवराज भट्टराईले बताएका छन् ।

stone skipping championship winner