विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चीनको यिउ सहरमा भएको युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक यूसीएलजी कंग्रेसलाई नेपालका तर्फबाट सम्बोधन गरेका छन् ।

चीन भ्रमणमा रहेका मेयर कोइरालाले यूसीएलजीको नवौँ महाधिवेशनलाई सम्बोधन गरेका हुन् । सम्बोधनमा उनले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा केन्द्रित अनुभव राखेका थिए ।

नेपालको संविधान अनुसार सङ्घीय तह स्थानीय, प्रदेश र सङ्घीय सरकारको आ-आफ्नै विशेषता र क्षेत्राधिकार रहेको मेयर कोइरालाले बताए । स्थानीय सरकारसँग जनताको सिधै पहुँच हुने भएकाले जनताले धेरै आशा राखेको उनको भनाइ थियो ।

यूसीएलजीको प्रभावकारिता अझै बढाउँदै लानुपर्नेमा मेयर कोइरालाले जोड दिए । युसीएलजी कङ्ग्रेसमा सहभागी हुन मेयर कोइराला कात्तिक २५ गते चीन प्रस्थान गरेका हुन् ।

यसअघि मेयर कोइरालाले तीन साता लामो अमेरिका भ्रमण गरेका थिए । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसँग उनले भेटघाट गरेका थिए ।