वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित श्रीलङ्का टप्पुमा स्थानिय पशुपालन कृषकहरूका बाख्रा बिरामी हुन थाले पछि नगरपालिका रोग नियन्त्रणका लागि सक्रिय भएको छ । केही दिन देखि स्थानिय पशुपालन कृषकका बाख्रामा नाकबाट सिंगान बग्ने, मुखमा खटिरा निस्कने, छेर्ने, टाउको हल्का सुनिएको जस्तो हुने, घाँस नखाने लगायतका लक्षण देखिन थालेका थिए ।

बाख्रा बिरामी हुँदै मर्न थाले पछि नगर प्रमुख रमेश कार्की टप्पुमा कृषि प्राविधिक सहित शुक्रवार बिहान निरीक्षण गर्नु भएको वडा नं ९ का निवर्तमान वडा सदस्य स्थानिय शम्बु चन्द्रबशीले बताए ।

मेयर रमेश कार्की नेतृत्वको कृषि प्राविधिकहरू विमल अधिकारी र मेघराज बस्नेत सहितको टोलीले रोग लागेको बाख्रालाई औषधि सहित पीपीआरको महामारी बारेमा जानकारी समेत गराउनु भएको चन्द्रबशीले बताए ।

टप्पुमा २ दर्जन भन्दा बढी पशु पालन कृषकहरूको सयौँको संङख्या भन्दा बढी बाख्रा बिरामी भएको र दस/एघार वटा बाख्रा मरि सकेका स्थानिय पवन चन्द्रवशीले बताए ।

कृषि तथा पशुपालन गरेर जीविका पार्जन गर्दै आएका टप्पुमा बाख्रामा समस्या देखिएकाले नगरपालिकाका कृषि प्राविधिक ल्याएर रोगको उपचार , महामारी नियन्त्रणको काम थालिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

टप्पुमा बाख्राको बारेमा लागेको रोगको बारेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरि इनरुवा समेत जानकारी गराएको र अब टोली सहित थप बाख्रामा लागेको रोग परीक्षण गरेर बाख्रालाई भ्याक्सिन लगाउने काम सुरु गरिने नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक विमल अधिकारीले बताए । बाख्रामा लागेको रोग पुष्टि गरेर थप महामारी नियन्त्रणको काम थाल्ने उनले बताए । हाल कृषकलाई औषधि नि:शुल्क वितरण र महामारीबाट बाख्रालाई सुरक्षित गराउने उपाय र आहारा बारे सचेतनाको कार्य गरेको अधिकारीले बताए ।

यस अगाडि पनि वराहक्षेत्र नगरपालिकाको वडा नं १ को  सूर्य कुण्ड, चा वाचा, वराहक्षेत्र, भण्डारीटार, बगुवा, गैरी टोल लाल बस्ती, चतरालगायतका बस्तीका कृषकले पालेका बाख्रामा नाकबाट सिंगान बग्ने, मुखमा खटिरा निस्कने, छेर्ने, टाउको हल्का सुनिएको जस्तो हुने, घाँस खानेलगायतका लक्षण देखिन थाले पछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरि इनरुवासँग समन्वय गरेर भ्याक्सिन र औषधि नि:शुल्क वितरण गरेको नगरपालिकाका पशु सेवा शाखाका कृषि प्राविधिक मेघराज बस्नेतले बताए ।