धरान : सूतीजन्य उत्पादनहरूमा एक पटक प्रयोग भैसकेको आन्तरिक राजश्व विभागको कर बुझाएको ५७० वटा स्टिकर पुनः प्रयोग गर्न सङ्कलन गरी बोकेर हिँडेको अवस्थामा प्रहरीले बर्जू गाउँपालिका-६ चिमडीका २१ वर्षीय जीवन प्रकाश यादवलाई पक्राउ गरेको छ ।

सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार हरिनगराबाट चिमडी आउँदै गरेका यादवको झोलामा ‘आन्तरिक राजश्व विभाग अङ्ग्रेजीमा रेडियम टोबाको’ लेखिएको ५७० वटा स्टिकर बरामद गरिएको हो ।

बजारमा विक्री गरिएका भोला गुट्खाको प्याकेटमा प्रयोग भैसकेका उक्त स्टिकरहरू पुनः प्रयोग गर्नका लागि सङ्कलन गरिएको पाइएको छ । राजश्व सम्बन्धी ऐन, नियम अनुसार एक पटक प्रयोग भैसकेको अन्तःशुल्क स्टिकर पुनः प्रयोग गर्न पाइँदैन ।

यादव भोला गुट्खाको मार्केटिङको काम गर्दै दैनिक विराटनगरबाट ३ देखी ४ बोरा गुट्खा कप्तानगञ्ज, साहेबगञ्ज, हरिनगरा, देवानगञ्ज लगायतका बजारमा खुदरा पसलेलाई विक्री गर्दछन् । त्यसरी विक्री गरेको पसलहरूबाट उनले पुरानो स्टिकर पुनः प्रयोग गर्न सङ्कलन गरेको पाइएको प्रहरीले जनाएका छ ।

प्रयोग भैसकेका स्टिकर पुनः प्रयोग गरी राजश्वमा ठग्ने कार्य गर्दै आएका यादवलाई प्रहरीले गएको बुधवार भाइटिकाको दिन पक्राउ गरी राजश्व कार्यालय पठाइएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।