धरान : दुई लाख रुपैयाँ अक्षयकोष स्थापना गरेर सुरु भएको धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिताको कोषमा १ लाख रुपैयाँ थप गरिएको छ । अब अक्षय कोषको कुल रकम ३ लाख रुपैयाँमा पुगेको छ ।

शनिवार एक कार्यक्रम आयोजना गरी गएको भदौमा आयोजित दोस्रो प्रतियोगिताबाट बचेको रकमबाट १ लाख रुपैयाँ अक्षयकोषमा थप गरिएको हो । शनिवार एक कार्यक्रमका बिच आयोजक धरान बस्केटवल सङ्घ र धरान मेघा हिमालयन कलेजले संयुक्त रूपमा उक्त रकमको चेक अक्षयकोष समितिलाई हस्तान्तरण गरेको छ ।

स्वर्गीय रेवाहाङ राईका अभिभावक रेवती रमण र सुजाता राईले बास्केटबल प्रतियोगिताको लागी २ लाखको अक्षयकोष स्थापना गरेका थिए । रेवाहाङका बुबा रेवती रमण राईले अल्पायुमै छोरा गुमेपछि बस्केटवल खेलाडी छोराको स्मृतिमा प्रतियोगिता सुरु गरेको बताए ।

उनले भने ‘यसबाट बास्केटबल खेलको विकास हुने र नयाँ खेलाडी उत्पादनमा पनि योगदान हुने विश्वास गरेको छु ।’ आयोजक र खेलाडीहरूको मनोबल वृद्धि गर्न परिवारको तर्फबाट कोषमा रकम थप गर्दै रेवाहाङ ट्रस्ट बनाउन सकिने उनले बताए ।

आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले विद्यार्थीहरूलाई पडाइसँगै खेलकुद पनि आवश्यक भएको खेलले मानिसलाई स्वास्थ्य, स्वच्छ सकारात्मक बनाउने भएकोले खेललाई अझ व्यवस्थित ढङ्गले खेलाउँदै बृहत् सहभागिता गराउने बताए ।

नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष तथा धरान बस्केटवल सङ्घका अध्यक्ष सुरज लामाले प्रतियोगिताको लागी पहिलो पटक कोष स्थापना भएको बताउँदै पहिलो भन्दा दोस्रो संस्करण राम्रो भएको अनुभव सुनाए ।