विराटनगर : नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले टिकटक बन्द गर्ने सरकारको निर्णय गैरजिम्मेवार भएको बताएका छन् । टिकटकको दुरुपयोग भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्न पहिले अध्ययन अनुसन्धान गरिनु पर्ने बताउँदै बन्द गर्ने हठात् निर्णय गैरजिम्मेवार भएको कोइरालाले बताएका हुन् ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा जोड दिए । उनले अमेरिका सहित विश्वका मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिँदै भने ‘सरकार सोच विचार गरेर अघि बढ्ने भन्दा गैरजिम्मेवार बन्दै गएको देखिन्छ ।’

कोइरालाले नेताहरूका कारण गणतन्त्र सही बाटोमा हिँड्न नसकेको बताए । गणतन्त्र राम्रो व्यवस्था हो, यसलाई राजनैतिक दलहरूका कारणले प्रश्न उठाउने ठाउँ बनाएको उनको भनाई छ ।

उनले कोसी प्रदेशसभाका काँग्रेसका प्रदेश सभा सस्दस्यरुका कारण काँग्रेस बचेको पनि बताए । कोइरालाले कोसी प्रदेशमा एमाले सहितको सहमतीय सरकार बनाउन आफूले पहिलादेखि नै जोड दिँदै आएको स्मरण गराए ।