विराटनगर : काँग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले एकथरी युवाहरू पढाइको नाममा युरोप तिर लाग्दै छन् भने पाखुरीमा बल हुने अर्कोथरी युवाहरू खाडी तिर जाने क्रमले मुलुक युवा विहीन अवस्थामा पुग्न लागेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले भने ‘अलि हुनेखानेहरू अमेरिका, जापान, अष्टेलिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन् ।’ आर्थिक रूपमा कमजोर पाखुरीमा बल हुनेहरू खाडी जान ताँती लागेका छन् । एकथरि युवा उतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि, उमेर ढल्किएपछि फर्कने बताउँदै कोइरालाले भने ‘यस्तो अवस्थाले देश उँभो लाग्दैन ।’

विराटनगरमा शनिवार पत्रकार, लेखक शङ्कर खरेलको पुस्तक ‘तृप्यन्ताम’ लघुकथा सङ्ग्रहको विमोचनमा उनले उक्त कुरा बताएका हुन् । जनतामा अहिले चरम निराशा देखिएको बताउँदै त्यही निराशाको परिणाम युवाहरू विदेश पलायन भएको नेता कोइरालाको भनाई थियो ।

युवाहरूको पलायतले उर्वर जमिनहरू बाँझो हुँदै गएकोमा कोइरालाले चिन्ता व्यक्त गरे । रेमिटेन्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको उनको भनाई छ । कोभिड-१९, रुस-युक्रेन युद्ध र इजरायल-हमासबीचको युद्धले रेमिटेन्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको कथन थियो ।

नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरूमात्रै रहने बताए । उनले भने ‘युवाहरूको बढ्दो विदेश पलायनले नेपाल बढौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ ।’

वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नु पर्ने कुरामा जोड दिँदै नेता कोइरालाले राजनैतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्थाले स्थिति जटिल हुँदै गएको बताए ।