इटहरी : नेपाली काँग्रेस मोरङ समितिले मङ्सिर ६ गते बुधवार सुन्दरहरैंचाको जेसिज भवनमा जिल्ला सम्मेलनको आयोजना गर्ने भएको छ । वरिष्ठ नेता डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्ययतामा हुने सम्मेलनमा बढ्दो राजनैतिक अराजकताको विषयमा बहस हुने भएको हो ।

लोकप्रियतावादको कारण सृजित अराजकताले लोकतन्त्रमा पारेको प्रभावको विषयमा छलफल हुने बताइएको छ । जिल्ला सचिव ललित श्रेष्ठका अनुसार बढ्दो राजनैतिक सङ्क्रमणको अवस्थाको निकासमा काँग्रेसको भूमिकाको विषयमा अन्तरक्रिया हुने भएको छ ।

बिहान साढे ७ बजे देखी नास्ताको कार्यक्रम रहेको र साढे ८ बजेदेखि उद्घाटन कार्यक्रम सुरु गरिने उनले बताए । करिब ११ बजेसम्म खुल्ला सत्र सक्ने र खाना पछि बन्द सत्र सुरु गरिने श्रेष्ठको भनाइ छ । कार्यक्रममा मोरङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय स्तरका नेताहरूको उपस्थिति रहने उनले जानकारी दिए ।

राजनीतिक प्रतिवेदन सभापति डिग बहादुर लिम्बुले, साङ्गठनिक प्रतिवेदन सचिव मोदराज घिमिरेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रञ्जु अधिकारीले पेस गर्ने कार्यक्रम रहेको छ । विगतको समीक्षा गर्दै आगामी रणनीति बारे छलफल हुने उनको भनाइ छ ।

मोरङ जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि सँग केही समय पछि जनजीविकाको सवालमा खेल्नुपर्ने भूमिका बारे प्रशिक्षण दिने कार्यक्रम रहेको उनले प्रस्ट पारे ।