धरान : धरान उपमहानगरपालिका कार्यपालिकाको आज बिहीबार बोलाइएको बैठकमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष र माओवादीबाट वडाध्यक्ष उपस्थित नहुँदा मुख्य मेयर हर्क साम्पाङले प्रस्तुत गरेका मुख्य एजेण्डा छलफलको विषय बनेनन् ।

वडा-१६ का अध्यक्ष मुरारी भट्टराईले हिजो बुधवारै कार्यपालिका बैठकमा काँग्रेसका वडाध्यक्षहरू उपस्थित नहुने सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । उनको भनाई सहितको भिडियो ‘कपुरी’ न्युजको फेसबुक पेजमा प्रसारित भएको थियो ।

काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष भट्टराईले मेयर हर्क साम्पाङले कार्यपालिका बैठक बोलाउन अघि संसदीय पद्धतिको पालना नगरेकाले बैठकमा काँग्रेसका वडाध्यक्षहरू उपस्थिति नहुने बताएका थिए ।

बैठक अघि संसदीय पद्धति अनुसार एजेन्डाहरूका विषयमा न्यूनतम समझदारी कायम गर्दा बैठक मर्यादित र परिणाममुखी रूपमा अघि बढ्ने भट्टराईको भनाई छ । तर मेयर साम्पाङले आफूखुसी एजेण्डा राख्ने र आफूले भने जसरी नै पारित गर्न बैठकलाई अमर्यादित बनाउन आफै प्रोत्साहित गरेको आरोप लगाएका छन् ।

मेयर साम्पाङको असंसदीय व्यवहारका कारण कार्यपालिका बैठकको समय अमर्यादित र अनावश्यक वाद विवादमा बित्ने गरेको उनले बताए । बैठकमा के विषयमा मतभेद भएको हो त्यसलाई स्पष्ट नगरी युट्युबरहरुले वादविवादलाई मात्र सामाजिक सञ्जालमा प्रसारण गरेर दोष जाति वडाध्यक्षहरू माथि थोपरेर मेयर साम्पाङको प्रचार गर्ने गरिएको उनको भनाई छ ।

यस विषयमा मेयर साम्पाङसंग समझदारी भएपछि मात्र बैठकमा उपस्थित हुने बताउँदै वडाध्यक्ष भट्टराईले आजको बैठकको एजेण्डामा पनि मेयरको मनोमानी भएकोले उपस्थित नभएको बताए । करिब ३ महिनापछि बसेको कार्यपालिका बैठकमा २४ वटा एजेण्डाको सूचि टेबुल गरिएको थियो ।

तर, मेयर हर्क साम्पाङले चाहेका मुख्य एजेण्डा छलफलको विषय बन्न सकेन । त्यस्ता ७ वटा प्रस्ताव थिए । बैठकले २ वटा प्रस्तावमा सामान्य छलफल गरी समिति गठन गर्ने निर्णय गर्‍यो ।

बैठकको कतिपय एजेण्डा मेयर साम्पाङको एकल निर्णयमा कार्यान्वयनमा गएको तर अनुमोदन हुन बाँकी प्रस्ताव पनि थिए । त्यसैले पनि ती एजेण्डामा कुनै निर्णय हुन सकेन ।

एजेण्डाका रूपमा प्रस्तुत बराह बचत तथा ऋण सहकारी संस्थालाई सङ्कटग्रस्त घोषणा प्रस्ताव मेयर साम्पाङले यस अघि नै कारबाहीको प्रक्रिया अगाडि बढाउन सहकारी विभाग र मन्त्रालय समेत लाई पत्राचार गरेका थिए ।

बैठकमा सहभागी नेकपा एमालेका वडा १५ का अध्यक्ष इवारामका अनुसार यसअघि मेयर साम्पाङ आफैले खोला ठेक्का नलाउने घोषणा नै गरेकाले खोलाजन्य पदार्थ मिसगिट्टि ठेकेदार कम्पनी लुम्बिनी गजुरमुखि जेएनलाई ठेक्का दिने प्रस्तावमा छलफल भएन ।

विविध विद्यालय बाहेकका शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा नियमन सम्बन्धी निर्देशिका पनि पारित नभएको उनले बताए । धरान बजारमा मोटरसाइकल समेतलाई पार्किङ शुल्क उठाउन लगाइएको ठेक्का कार्यपालिकाबाट अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएन ।

मेयर र उपमेयरको निर्णय अनुसार टेण्डर मार्फत लगाइएको उक्त पार्किङ शुल्क ठेक्का सम्झौता गरी ठेकेदारले शुल्क समेत असुल गर्न थालेपछि मात्र कार्यपालिका बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिएको हो । उक्त एजेण्डा मोटरसाइकल र साना निजी सवारी साधनलाई सहुलियत सम्बन्धी विषय छलफलका लागि ल्याइएको थियो ।

३३ केभी प्रसारण लाइन सेउती कोरिडोरबाट स्थानान्तरण गर्न अध्ययन समिति गठन गरिएको छ । साथै घण्टाघरमा पुनर्बहाली सहित उमेर हदबन्दी लागेका ७ करार कर्मचारी सम्मान सहित उपदान दिन वडा २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा समिति गठन गरिएको छ ।

सेउती खोला कोरिडोर बस्तीका स्थानीयसँग आवश्यक छलफल सम्भाव्यता अध्ययन गर्न धरान १५ का अध्यक्ष नरेश इवाराम संयोजक रहेको समिति बनेको छ ।

बैठकले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना एवं विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० पारित गरेको छ । यस्तै, सार्वजनिक खरिद नियमावली २०७८ संशोधन पारित गरेको छ ।

निर्माण सामाग्री एवम् परामर्श सेवा दिने वा विज्ञ समूहको पारिश्रमिक लगायतको नगर दररेट पारित गरेको छ । औद्योगिक ग्राम धरान-६ को विस्तृत अध्ययन प्रतिवेदन बैठकले स्वीकृत गरेको छ । धरान ६ को वडा कार्यालय भवनको निर्माण लागि प्रदेश कार्यालयमा सहयोग माग्ने निर्णय भएको छ ।

सामान ढुवानी गर्ने सवारी साधनलाई पूर्वाधार उपयोग सेवा शुल्क उठाउने निर्णय भएको छ । घर नक्सा दस्तुर एक हजार लिने निर्णय गरेको छ । घर बहालमा लगाउँदा लिखित सम्झौता गर्नु पर्ने निर्णय पारित गरेको छ । घर बहाल भुक्तानी बैङ्क मार्फत गर्नुपर्ने निर्णय गरिएको छ ।

karyapalika-1karyapalika-4karyapalika-5karyapalika-6