धरान : मोटरसाइकल हाँकेर हेलमेटमा लुकाई ल्याएको ब्राउनसुगर सहित सुनसरीको दुहबीमा दुई जना भारतीय युवालाई बुधवार राती प्रहरीले पक्राउ गरेको छ ।

बिआर ३८एई ८०७५ नम्बरको टिभिएस कम्पनीको रेडर लेखिएको मोटरसाइकलमा विराटनगर तर्फबाट आइरहेका दुई भारतीय युवालाई ७० दशमलव ५ ग्राम ब्राउनसुगर सहित प्रहरीले दुहबी-५ डाँगा चौकबाट पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुहबी इलाका प्रहरी कार्यालयको गस्ती प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकलमा सवार भारत विहारको अररिया जिल्ला जोगबनी थाना पोस्ट अफिस राड जोगबनी-५ काय २७ वर्षीय युवक सोनुकुमार चौधरीले लगाएको हेलमेट भित्र प्लास्टिकले पोको पारी लुकाएको ब्राउनसुगर फेला परेको हो ।

प्रहरीले चौधरीसँगै मोटरसाइकलमा रहेका भारत विहार, जोगबनी थाना, हाजिमल्ला ग्राम पञ्चायत–११ का बलवीर रामलाई समेत पक्राउ गरेको छ । पक्राउ गरिएको दुवैलाई इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट थप म्याद लिएर हिरासतमा राखेको जनाएको छ ।