वराहक्षेत्र : धर्तीकै पहिलो तीर्थको रूपमा रहेको वराहक्षेत्र मन्दिरका प्रथम मानव पुजारी वराहक्षेत्र-१ चतरा स्थित औलिया बाबाको विधिवत् पूजा आराधना गरी निशान यात्रामा गरिएको छ ।
वि.सं. १८२१ मा चतरा गद्दीको स्थापना भएपछि बर्सेनि हरिबोधिनी मेलाको अवसरमा औलिया मठमा रहेको निशान झण्डा वराहक्षेत्र मन्दिर लगिने गरिन्छ । औलिया बाबाको प्रतीक स्वरूप निशान झण्डा आज शनिवार चतरा बजार परिक्रमा गरेर वराहक्षेत्र मन्दिर लगिएको हो ।
आज बिहान वराहक्षेत्र मन्दिरमा कपडाको झण्डालाई हटाएर पितलको झण्डा समेत लगाइएको थियो । वराहक्षेत्र मन्दिर र औलिया बाबाको विशेष पूजा आराधना सँगै नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नं १ का अध्यक्ष किसन थापामगर, पण्डित योगेश भण्डारी, वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारी, औलिया बाबा मठका विनायक पुरी, वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ लगाए स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, स्थानियबासिहरुले औलिया बाबाबाट निकालिएको निशान झण्डा औलिया मठबाट वराहक्षेत्र मन्दिरमा बिदाइ र स्वागत गरेका थिए । 
औलिया मठबाट निशान झण्डालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोलीले संयुक्त रूपमा सलामी समेत दिएका थिए । सलामी पछि पञ्चकन्या, नौमती बाजा सहित, जोगी सन्तहरूले निशान झण्डालाई चतरा परिक्रमा गरेर वराहक्षेत्र मन्दिर पुर्‍याएका थिए ।
Aulia baba nishan