धरान : नेकपा एमालेको कार्यक्रमलाई अवरोध गर्न ताप्लेजुङमा भएका प्रदर्शनमा पक्राउ गरिएका पहिचानवादी आन्दोलनका कार्यकर्ता नछाडिए प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्सिर १२ गते राजमार्ग बन्द गर्ने चेतावनी दिएको छ ।

हिजो आइतबार एमाले सचिव सांसद योगेश भट्टराई सवार गाडी ताप्लेजुङ बसपार्क नजिकै पहिचानवादीहरूले तोडफोड गरेका थिए । यसअघि एमाले र पहिचान पक्षधर कार्यकर्ताबिच झडप भएको थियो । उनीहरूले भट्टराईको निवास अगाडि प्रदर्शन गरेका थिए ।

उक्त प्रदर्शनको विषयलाई लिएर प्रहरीले पाथीभरा याङ्वरक-३ का विपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई आइतबार राती पक्राउ गरेको थियो । संयुक्त सङ्घर्ष समितिले आज सोमवार एक वक्तव्य जारी गर्दै उक्त पक्राउ डकैती शैलीमा भएको र बिना कारण दजनौ पहिचानवादी माथि उक्त घट्नाको आरोपी बनाइएको आरोप लगाएको छ ।

वक्तव्यमा भनिएको छ ‘साम्प्रदायिक रूपमा गाली गर्ने पूर्व प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई र महेश बस्नेत सहभागी कार्यक्रममा कालो झन्डा देखाउने लगायतका शान्तिपूर्ण विरोध गर्ने हाम्रो घोषित कार्यक्रम हो । कोसी खारेजी र तीन भाइले माफी नमागेसम्म प्रदर्शन निरन्तर रहन्छ ।’

५ सूत्रीय माग सहित वक्तव्यमा पक्राउ गरिएका २ जना रिहाइ गर्न आज ताप्लेजुङ प्रहरी कार्यालय घेराउ गर्ने, साँझसम्म  नछाडे भोलि मङ्सिर १२ गते मेची राजमार्ग बन्द गर्ने र अझै नछाडे थप कडा कार्यक्रम घोषणा गरिने उल्लेख छ ।

कालो झन्डा प्रदर्शन लगायतको हाम्रो घोषित कार्यक्रम भएकाले निहुँ खोज्न आउने योगेश भट्टराई आयोजक र सरकार स्वयम्ले ताप्लेजुङ घट्नाको जिम्मेवारी लिनुपर्ने, शान्तिपूर्ण जुलुसमा भएको आक्रमणप्रति भर्त्सना गर्दै आक्रमणमा संलग्न भिजिलान्तेहरूलाई तुरुन्त पक्राउ गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ ।

mangshir 11 namangkan bigyapti