इटहरी : इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएका छन् । अब उपमहानगरमा नगर प्रहरीको सङ्ख्या ४५ पुगेको छ । सोमबार देखि तालिममा सहभागी भएका नगर प्रहरीहरू अब कार्यक्षेत्रमा खटिने छन् । २ जना सई ,चार जना हवाल्दार र २४ जना जवान थपिएका हुन । नगर प्रहरीलाई तालिमपछि कार्यक्षेत्रमा खटाइने छ ।

नयाँ नगर प्रहरीलाई करिब डेढ महिना तालिम दिइनेछ । तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाइने छ । नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने छ । तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख हेम कर्ण पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सुव्यवस्था मजबुत हुने बताए । सडक अतिक्रमण गरेर सडकमा राखेको निर्माण सामाग्री देखि बजार व्यवस्थापन सम्ममा नगर प्रहरी खटाइने छ ।

इटहरी उपमहानगरको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रा पर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापनको अधिकार दिइने मेयर पौडेलको भनाई छ । यस्तै, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशु नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारी नगर प्रहरीलाई दिइने मेयर पौडेलको भनाई छ ।

इटहरी कोशी प्रदेशकै हब भएको भन्दै इटहरीमा नगर प्रहरीको सङ्ख्या अझै कम भएको नगर प्रमुख पौडेलको भनाई छ । इटहरीको मुख्य चोक सँगै भित्री सडकहरूमा समेत नगर प्रहरीहरूलाई जिम्मेवारी दिएर पठाइने इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जनाए । इटहरीको बढ्दो जनसङ्ख्याको कारण भिड भाड व्यवस्थापन गर्न अति आवश्यक भइरहेको उनको भनाई थियो । यस अघि १५ जना मात्र नगर प्रहरी थिए । नगर प्रहरीको लागि गाडी समेत खरिद गरिसकेको उपमहानगरले जनाएको छ ।

तालिम समारोह कार्यक्रममा बोल्दै इलाका प्रहरीका कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले नगर प्रहरी थपिएसँगै इटहरी उपमहानगर क्षेत्रमा सहज हुने बताए । थप नगर प्रहरीले बजार व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग हुने डिएसपी कार्कीले बताए ।