विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त र महत्त्वपूर्ण हुने भएकाले महिलाहरूलाई महिला अधिकारका सवालमा काम गर्न आग्रह गरेका छन् ।

विराटनगरमा सोमवार आयोजित प्रदेश स्तरीय महिलावादी महिला मञ्च कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’ विकाशका महत्त्वपूर्ण क्षेत्रहरू महिलाको हातमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

महिलाका अधिकारका निम्ति कोही माननीयले बजेट माग नगरेको कुरा उल्लेख गर्दै मुख्यमन्त्रीले मानवीय विकाशका लागि कसैले माग नआएको, सबैबाट बाटो लगायतका कामका लागि बजेट माग भएको स्मरण गराए ।

मुख्यमन्त्री कार्की विराटनगरमा स्थापना गरिने हृदय रोगको उपचार केन्द्र सैलजा आर्चायको नाममा स्थापना हुने भएकाले त्यसको प्रारम्भ बजेटको कार्यान्वयनसँगै हुने बताए । प्रदेश सरकारले भौतिक विकाश सँगै मानवीय विकासमा पनि जोड दिने भएकाले महिला अधिकारका क्षेत्रमा सशक्त भएर काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले व्यक्त गरे ।