धरान : दोस्रो लियो अन्तर विद्यालय ५-के रन २०२३ दौड प्रतियोगिता मङ्सिर १५ गते धरानमा आयोजना गरिने भएको छ ।
लियो क्लव अफ धरान विजयपुरले सोमबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । सन् २०२२ मा पहिलो प्रतियोगिता आयोजना गरिएको थियो । त्यसैको निरन्तरता दोस्रो लियो अन्तर विद्यालय ५-के रन २०२३ हुने जानकारी दिइएको हो ।
पहिलो पटक भएको २०२२ मा भएको प्रतियोगितामा ७२० जना स्कुले धावक, धाविका सहभागी थिए । यसपालि दोस्रो प्रतियोगितामा १ हजारको सङ्ख्यामा विद्यार्थीहरू सहभागी गराइने आयोजक लियो क्लव विजयपुरका प्रसिडेन्ट मोनिका श्रेष्ठले बताइन्  ।
प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्रा र कक्षा ११ देखि १२ का छात्र तथा छात्रा गरी ४ वटा समूहमा हुने उनले जानकारी दिइन्।
प्रतियोगितामा सहभागिताको दर्ता फारम मङ्सिर १३ गते भित्र गरिसक्नुपर्ने छ । दर्ता शुल्क २५० रुपैयाँ तोकिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाहरूले क्रमशः ९ हजार, ७ हजार र ५ हजार रुपया पुरस्कारका सार्थ मेडल र उपहार भौचर प्राप्त गर्नेछन् ।
सहभागीहरूलाई निःशुल्क टिसर्ट उपलब्ध गराइनेछ । ५ किलोमिटर लामो दौडको रुट भानुचोकबाट सुरु भई पुतली लाइन, कल्याण चौक, पानीटंकी, चतरा लाइन, छाताचोक, सिंहदेवी, पुरानो बजारबाट देशीलाईन हुँदै भानुचौक अन्तिम विन्दु हुने बताइएको छ ।