धरान : धरानमा तिहार सकिएको २ सातापछि पनि देउसी भैलोको रौनकता अझै उस्तै नै छ । धरानका चोक-चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् । तिहार सकिएपनि धरानका केही सङ्घ संस्था, डान्स सेन्टरहरूले सांस्कृतिक कार्यक्रम जारी राखेका छन् ।

यसैबिच, धरान नृत्य कला प्रतिष्ठानले भव्य नृत्य कार्यक्रम आयोजना गर्दै २०८० सालको देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले हिजो (सोमबार) आचार्य लाइनमा कार्यक्रम आयोजना गरेको थियो । जसमा धरानका नयाँ डान्स सेन्टरका कलाकारदेखि पुराना डान्स सेन्टरसम्मका कलाकारले प्रस्तुति दिएका थिए ।

पछिल्लो समय देउसी भैलोमा पश्चिम संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको छ । रेकर्ड गरिएका आधुनिक गीतले देउसी भैलोको मौलिकता र संस्कृति मासिँदै गएको सन्दर्भमा धरान नृत्य कला प्रतिष्ठानले आयोजना गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ ।

धरानमा बढ्दो जातीय र धार्मिक द्वन्द्व अन्त्य गर्न र आफ्नो कला संस्कृतिको संरक्षण गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको नृत्य प्रतिष्ठानकी अध्यक्ष नन्दा राईले बताइन् । उनले भनिन्, “युवाहरूलाई मन पर्ने चल्तीका रिमिक्स गीतसँगै हामीले तामाङ संस्कृति, आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसी भैलो कार्यक्रममा समावेश गरेका छौँ ।”

नृत्य प्रतिष्ठानले नेवारी, स्याब्रा, साकेला, च्याब्रुङ, मारुनी, तामाङ सेलो, कैरा (काैडा) गरी २१ वटा नाच प्रस्तुत गरेको थियो ।

deusibhailo karyakram 2

deusibhailo karyakram 4

deusibhailo karyakram 3