वराहक्षेत्र : वराहक्षेत्रका सामुदायिक विद्यालयको अनुगमन गर्ने कार्यमा नगरपालिका सक्रिय बनेको छ । विद्यालयले प्रदान गर्ने शैक्षिक अवस्था, सिकाई क्रियाकलाप, प्रयोगात्मक ज्ञान, सिकाई क्षमता, उपचारात्मक कक्षा लगायतको विषयमा नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद विकास शाखा मार्फत छड्के रूपमा विद्यालयमा पुगेर अनुगमन गर्ने कार्यमा सक्रिय बनेको हो ।

गत आइतबारबाट सामुदायिक विद्यालयहरूको छड्के रूपमा अनुगमन सुरु गरेको नगरपालिकाले बिहीबार वडा नं ८ र ९ मा रहेको विद्यालयमा पुगेर अनुगमन गरेको नगरपालिकाका शिक्षा अधिकृत उत्तम भारतीले जानकारी दिए । उनका अनुसार बुधवार वडा नं ३ र ७ मा रहेका विद्यालयमा पुगेर अनुगमन गरिएको थियो ।

बिहीबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लको नेतृत्वमा वडा नं ८ मा रहेको जनक माध्यमिक विद्यालय, शिशु ज्योति आधारभूत विद्यालय र वडा नं ९ को सरस्वती माध्यमिक विद्यालय, हुल्कु आधारभूत विद्यालयमा पुगेर विद्यालयको शैक्षिक क्रियाकलाप, उपचारात्मक शिक्षण, शिक्षण विधि, विद्यार्थीहरूको सिकाई क्षमता लगायतको निरीक्षण गरेको शिक्षा अधिकृत भारतीले बताए ।

कक्षा कोठामा विद्यार्थीहरूको शिक्षण सिकाइको निरीक्षण गर्दै सकारात्मक र सुधार गर्नु पर्ने कुरा बारे प्रधानाध्यापक तथा शिक्षकहरूलाई विद्यार्थीहरूको सिकाई अवस्था बारे अनुगमन टोलिले छलफल गर्ने पृष्ठपोषण समेत दिने गरेको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लले बताए ।

नगरपालिकाले सुरु गरेको विद्यालय अनुगमन कार्यमा नगर प्रमुख, उप-प्रमुख, स्थानिय जनप्रतिनिधि सहित नगरपालिकाका शिक्षा शाखाका कर्मचारीसँगै नगर शिक्षा समितिका सदस्यहरू आदर्श माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर पाण्डे, कोसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण अधिकारीको सहभागिता रहने गरेको छ ।

chadke anugaman toli 2