इटहरी : सुनसरीको इटहरी नगरपालिका वडा नं.२ का पुण्य पौडेल र उनकी आमा जानुका पौडेलले बुहारीको विवाह गरिदिएका छन् ।

बुहारी ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार बिहीबार कन्यादान गरी विवाह भएको हो । २०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्याएको थियो ।

जानुकाले भनिन्,“मेरी कान्छी बुहारीको रूपमा भित्र्याएकी उनलाई आज छोरीको रूपमा विवाह दान गरेर बिदाइ गरेँ ।” जानुकाका कान्छा छोरा फडिन्द्र र सूजाबीच मागी विवाह भएको थियो । फडिन्द्रको २०७१ निधन भएको थियो ।

सुनसरी डुम्राहाका रमेश रेग्मीले विवाह गर्न परिवारमै प्रस्ताव गरेपछि आफूहरूले राजी खुसी विवाह गराइ दिएको पुण्यले बताए । “बुहारीको माइती पक्षसँग पनि यस विषयमा छलफल भयो,” उनले भने,“पारिवारिक सहमतिमै विवाह गर्ने निर्णयमा पुगेका हौँ । भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएका हौँ ।”

रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्ष पहिले निधन भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारी हुन् । सूजा एनआइसी एसिया लघुवित्तमा कार्यरत छिन् । सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका लागि पनि उदाहरण भएको बताए ।

कर्मघरबाट छोरीको रूपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गर्व लागेको सूजाले बताइन । जीवनमा आई परेका समस्या र त्यसको समाधानबारे धेरै सिकाइ भएको बताउँदै उनले भनिन्,“पौडेल परिवारबाट मैले छोरीकै माया पाएँ । अहिले यही घरबाट बुहारी भएर जान पाउँदा यो समाजका लागि पनि उदाहरण हो जस्तो लाग्छ ।” अब दुबईतिरका छोराछोरीलाई साथै राखेर आफूहरूले नयाँ जीवन सुरुवात गर्ने उनले बताइन् ।