धरान : प्रदेश नं १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले आज शुक्रवार विज्ञप्ति प्रकाशित गर्दै नेकपा एमालेका नेताहरू पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, योगेश भट्टराई, महेश बस्नेतसँग आत्मालोचना सहित ‘कोशी’ प्रदेश नाम पुनः नामकरण गर्ने प्रतिबद्धताको माग गर्दै मङ्सिर २६ गतेदेखि मध्य-पहाडी मार्ग ‘घुर्मी-लेगुवा सडक अनिश्चितकालीन बन्द’को आव्हान गरेको छ ।

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको मङ्सिर २८ तेह्रथुमको वसन्तपुरमा वृहत् सभाको कार्यक्रम छ । लगत्तै पाँचथर ३० गते जनसभाको कार्यक्रम छ । सङ्कल्प यात्राको अभियान तेह्रथुममा आइपुग्न अघि संयुक्त सङ्घर्ष समितिले मध्य पहाडी लोकमार्गको ‘कोशी’ प्रदेश सडक खण्ड अनिश्चितकालिन बन्दको आव्हान गरेको हो ।

संयुक्त सङ्घर्ष समितिको वक्तव्यमा पहिचानको आन्दोलन एमाले, काँग्रेस, माओवादी विरुद्ध होइन । पहिचानको आधारमा पुनः नामकरण आम जनताको माग हो, यो कुरा पुनःदोहोर्‍याउदै मङ्सिर २६ गते देखि मध्य-पहाडी मार्ग ‘घुर्मी-लेगुवा सडक अनिश्चितकालीन बन्द’ आह्वान गर्दछौँ, भनिएको छ ।

वक्तव्यमा भनिएको छ ‘आदिवासी जनजातिलाई साम्प्रदायिक हिसाबले अपराधी भन्ने र पहिचान पक्षधर खस र आर्य, दलित, मधेशीहरूलाई आतङ्ककारी भनी गाली गर्दै आएका पूर्व प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई, महेश बस्नेत विरुद्ध कालो झण्डासहितको विरोध प्रदर्शन गर्दै आएका छौँ । आत्मालोचना गरेर ‘कोशी’ प्रदेश नाम पुनः नामकरण गर्ने प्रतिबद्धता गरेमा स्थिति हेरेर आन्दोलनको रूप परिवर्तन गर्न सकिने सबैमा प्रष्ट पार्न चाहन्छौँ ।’

Bandha ghosana