विराटनगर : मोरङको हात्ती आतङ्कित क्षेत्रमा पुगेका कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीलाई पीडितहरूले हात्तीले मच्चाएको उत्पातका विवरण सुनाएका छन् ।

शुक्रवार हात्ती आतङ्क प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बेलबारी-१० भाउन्ने पुगेका मुख्यमन्त्रीलाई पीडितहरूले भोग्नु परेको क्षतिका बारेमा बताएका हुन ।

वडाध्यक्ष गङ्गाबहादुर याख्खाले भाउन्नेमा १० बिगाहा भन्दा धेरै कृषि क्षेत्रमा लगाइएको मकै, केरा लगायत बाली नष्ट गरेको बताए । बिहीबार राति स्थानीय सविन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षतिले पुर्‍याएको थियो ।

गएको १५ दिनमा हात्तीको आक्रमणबाट झापामा २ जना र सुनसरी र मोरङमा १/१ जना सहित ४ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा जङ्गली हात्ती बस्ती पसेर जनमाल क्षति गरिरहेका छन् ।

मुख्यमन्त्री कार्कीले स्थलगत निरीक्षणको अवसरमा जङ्गली हात्तीले मोरङमा गरेको क्षतिबारे पीडितहरूसँग बुझ्नका साथै स्थानीयसँग छलफल समेत गरेका छन् । स्थानीयले मोरङको उत्तरी भेगमा समूहमा आएका जङ्गली हात्तीले बालीनाली खाइदिने, घरमा पसेर क्षति पुर्‍याउनका साथै गाउँलेलाई आक्रमण गर्दै आएको बताए ।

मुख्यमन्त्रीले भाउन्नेमा हात्तीको आक्रमणबाट भएको घर र बालीको निरीक्षण गरे । उनले हात्तीबाट हुने गरेको क्षति घटाउन हात्ती कोरिडोर निर्माणदेखि जङ्गलमै जनावर रोक्न उनीहरूको खाद्यान्न आपूर्ति हुने बोट बिरुवा लगाउने सरकारको तयारी भएको स्थानीयलाई बताए ।