विराटनगर : मुलुकमा सर्वत्र भ्रष्टाचार बढेकोमा त्यसको विरुद्ध आवाज उठिरहेका बेला कलेजका विद्यार्थीहरू बिच भएको कविता प्रतियोगितामा पनि भ्रष्टाचार विरोधी कविताले प्रथम स्थान प्राप्त गरेका छ ।

विराटनगर स्थित शिक्षादीप कलेजका विद्यार्थीहरू बिच शुक्रवार भएको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्काको कविता ‘भ्रष्टाचारले भरिएको मेरो देश’ले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा दुई दर्जन बढी विद्यार्थीले कविता वाचन गरेका थिए । उनीहरू सबैलाई पछि पार्दै मेनुका प्रथम भइन् । प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बरालले तृतीय स्थान प्राप्त गरिन् । गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे ।

डोरिक मण्डलको अङ्ग्रेजी र रोशन महतोले मैथिली भाषाको कविताले दोस्रो र सान्त्वना पुरस्कार प्राप्त गरेको हो । कवि, पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेका थिए ।

प्रतियोगीताका विजेताहरूलाई कलेजका अध्यक्ष भीम पराजुली, प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यवस्थापन संकायका संयोजक शङ्कर भट्टराई, सञ्चालक शैलेन्द्र सिवाकोटीले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सोही अवसरमा कलेजका कक्षागत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य समेत रहेका अध्यक्ष पराजुलीले कक्षागत पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरे । प्रिन्सिपल खड्काले शिक्षादीपले विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको जानकारी गराए ।