धरान : भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका आवास विहीन भूकम्प पीडितहरूलाई आवास निर्माण गर्न धरानबाट गएको नेपाली काँग्रेस धरान उपमहानगर समितिको टोलीले जाजरकोट जिल्ला भेरी नगरपालिका वडा १ रिम्नामा आवास विहीनहरू ५ परिवारका लागि अस्थायी घर बनाउने काम गरेको छ ।

टोली नेता धरानका पूर्व मेयर तिलक राईका अनुसार भूकम्पबाट घर पूर्ण क्षति भएको ६७ वर्षीय गगने राणाको परिवारका लागि काँग्रेसको धराने टोलीले अस्थायी आवास निर्माण गरिदिएको छ । यसैगरी आवास विहीन आमा छोरी मात्र भएकी पार्वती बुढाका लागि टोलीले अस्थायी आवास बनाई दिएको छ ।

भूकम्पमा परी रिम्ना स्थित नगरपालिका वार्ड १ का माओवादीबाट निर्वाचित वडा सदस्य प्रदीप राणाको आमाको निधन भएको थियो । बुवा टिकाराम राणाको दुवै खुट्टा भाँचिएको अवस्था छ । आवास विहीन अवस्थामा रहेका राणाको लागि पनि धरानबाट गएको टोलीले अस्थायी आवास निर्माण गरिदिएको टोली नेता राईले बताए ।

यसै गरी भूकम्पमा घर ध्वस्त भएपछि आवास विहीन ६४ वर्षीय केशर राणाको लागि पनि धरानको टोलीले अस्थायी आवास बनाई दिएको छ ।

श्रीमान् खाडीमा रोजगारीका लागि गएको बेला सासू र छोरासँग रहेकी २७ वर्षीय पूर्णकला राणा सहित भूकम्पले घर भत्काएपछि आवास विहीन थिइन् । धरानबाट गएको काँग्रेसको टोलीले उनीहरूका लागि पनि अस्थायी आवास निर्माण गरिदिएको छ ।

टोलीका सदस्य काँग्रेस सुनसरी-१ प्रदेशसभा समिति-२ का सचिव विजय घिमिरेका अनुसार टोलीले निर्माण गरेको अस्थायी आवास सरकारको अस्थायी आवास मापदण्ड बमोजिम निर्माण गरिएको छ ।

अस्थायी आवासको कोठाहरू ९/१५ फिटको रहेका छन् । उचाइ ७ फिटको छ । उनले भने, ‘यो अस्थायी आवासको लागि नेपाल सरकारले कायम गरेको मापदण्ड बमोजिम हो ।’

टोली संयोजक तिलक राईका अनुसार अस्थायी आवासको निर्माण भूकम्प पीडितहरूको आवश्यकतालाई प्राथमिकता अनुसार गरिएको बताए । उनका अनुसार त्यसको लागि जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग समन्वय गरिएको छ ।

नेपाली काँग्रेस जाजरकोटका सभापति तथा कर्णाली प्रदेशका अर्थमन्त्री वेदराज सिंह, काँग्रेस केन्द्रीय सदस्य तथा जाजरकोट प्रदेश ख का सांसद राजीव विक्रम शाह र भेरी नगरपालिका वडा १ का वडाध्यक्ष दीपक राणासँग पनि समन्वय गरी टोलीले अस्थायी आवास निर्माण कार्य गरेको हो ।

धरानबाट काँग्रेसको ६ सदस्यीय टोली गत: मंरि १९ गते मङ्गलवार पूर्व मेयर तिलक राईको नेतृत्वमा जाजरकोट प्रस्थान गरेको थियो । टोलीमा काँग्रेस सुनसरी-१ प्रदेश सभा-१ का सचिव राजेन्द्र राई, २ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ र वडा १७ का सचिव सूर्यकुमार सुनुवार सहित रहेका छन् ।

धरानबाट प्रस्थान गर्दा जाजरकोटमा भूकम्प पीडितहरूका लागि कम्तीमा पनि २ वटा अस्थायी आवास घर बनाउने योजना टोलीको थियो । भूकम्प प्रभावित क्षेत्रमा पुगेपछि त्यहाँ धेरै आवास विहीनहरूको अवस्था जाडोको बेला नाजुक देखिएपछि थप आवास बनाउन टोली संलग्न भएको संयोजक राईले बताए ।

aawas nirmaar 3

aawas nirmaar 2