धरान : कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा धरानमा मङ्सिर २७ गते देखि कोशी प्रदेश एन्फा प्रेसिडेन्ट कप यु-१५  फुटबल प्रतियोगिता हुने भएको छ । यु-१५ प्रेसिडेण्ड कप पहिलो पटक सुरु गरिएको हो ।

प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने बताइएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने ‘कोशी प्रदेश सङ्घ र प्रदेशका जिल्लाहरूले क्यालेन्डर अनुसार चालु वर्ष ४ वटा प्रतियोगिता गरिसकेको छ, तर अन्य ५ वटा प्रदेश र जिल्लाहरूले प्रतियोगिता गरेको छैन ।’

एन्फा मानार्थ उपाध्यक्ष समेत रहेका राईले सातै प्रदेशमा प्रतियोगिताको क्यालेन्डर एन्फा सँग भए पनि एन्फा कार्यसमितिले फुटबल गतिविधि गर्न समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।

अघिल्लो एन्फा केन्द्रीय समितिले सबै जिल्लाहरूमा प्रदेश लिग, जिल्ला लिग गर्दै आएको तर वर्तमान समितिबाट कार्यतालिका नआउँदा फुटबल गतिविधि शून्य भएको बताए ।

उनले मिडिया मार्फत एन्फा सँग प्रश्न गरे ‘आज भन्दा ३ वर्ष अघि प्रादेशिक लिगको च्याम्पियन भएर ४ वटा राष्ट्रिय लिग खेल्ने क्लबहरू होल्ड भएर बसेको छ, फुटबलमा यो मजाक होइन ?’

जिल्ला लिग र प्रादेशिक लिग खेल्ने क्लबहरूसँग गम्भीर छलफल गरेर कार्यतालिका घोषणा गर्ने बेलामा अझै पनि सि,बि,ए ग्रेड  प्रतियोगिता खेलाउने तयारीले देशभरका खेलाडी र क्लबहरूलाई मार्का पारेको उनले बताए ।

एन्फा केन्द्रीय समितिलाई चुनौती दिँदै अध्यक्ष राईले भने ‘केन्द्रले दिएको तालिकामा मात्रै निर्भर नरही स्थानीय तहमै आत्मनिर्भर कार्यपालिका निर्माण गरेर भए पनि प्रदेश फुटबल क्लबले प्रतियोगिता गर्नेछ ।’ एन्फाले तुरुन्त देशव्यापी जिल्ला लिग र प्रादेशिक लिगको तयारी गरोस् भन्ने उनको भनाई थियो ।

प्रदेश सङ्घले पहिलो पटक सुरु गरेको यु-१ प्रेसिडेण्ट कप फुटबलका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिता धरान-१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ । प्रतियोगिता ‘अव पालो नवीन युवा पिँढीको, लक्ष्य तयारी हाम्रो वर्ल्ड कपको’ मूल नाराका साथ आयोजना गरिएको अध्यक्ष राईले बताए ।