धरान : स्वास्थ्य चौकी, वडा कार्यालयहरूमा निःशुल्क लगाइने दादुरा, रुबेलाको खोप सुनसरीमा ८२ प्रतिशत बालबालिकाहरूले नलगाएकाले महामारी फैलने खतरा बढेको छ । कोसी गाउँपालिकामा ९२ प्रतिशतले खोप नलगाएका तथ्याङ्क छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य शाखाबाट सोमवार आयोजित अन्तरक्रियामा कोसी प्रदेश स्वास्थ्य निर्देशनालय खोप अधिकृत भरत भण्डारीले भने ‘ तथ्याङ्कमा सुनसरीका ८२ प्रतिशत बालबालिकाले दादुरा खोपको नलगाएकाले दादुरा रुबेला रोग फैलिएको छ ।’

दादुरा रुबेला प्रकोप नियन्त्रण, रोकथामका लागि ६ महिनाको शिशु देखी १५ वर्षका किशोर किशोरीलाई खोप लगाउनु पर्दछ । निःशुल्क पाइने यो खोप नलाउँदा देशभर फैलिँदै गएको दादुरा नियन्त्रण गर्न सरकारले यसपालि देशव्यापी अभियान सुरु गरेका उनले बताए ।

नियमित खोप जारी राख्दै दादुरा शून्य प्रतिशतमा झार्न सरकारले यो अभियान सुरु गरेको हो । धरानमा खोप अभियान पुष १ देखी ८ गते सम्म २० वटै वडाहरूमा सञ्चालन गरिने भएको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानका २० वटै वडामा तालिम प्राप्त स्वास्थ्यकर्मी, अहेब, अनमी, स्टाफ नर्स गुणस्तरीय खोप सेवा प्रदान गर्न तालिम प्राप्त स्वास्थ्यकर्मी, अहेव, अनमी , हेअ, सिअहेव,स्टाफ नर्सहरूबाट खोप सेवा सञ्चालन गरिने छ ।

उनले भने ‘महामारीबाट बच्न र बचाउन बालबालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाउन खोप केन्द्र सम्म अभिभावकहरू आइदिन अनुरोध गर्दछु । धरानमा सबै खोप केन्द्रहरू र स्कुलहरूमा एकै साथ खोप सेवा सञ्चालन गरिने मेहताले बताए ।

विश्वमा सन २००० को तुलनामा २०१६ मा दादुराबाट हुने मृत्युदर ८४ प्रतिशतले घटे पनि विकासोन्मुख देशहरू अफ्रिका, एसियामा जोखिमको स्थिति छ । विश्वव्यापी रूपमा सन २०१२ देखि २०२० दादुरा रुबेला रोग निवारण गर्ने रणनीतिक योजना थियो ।

नेपालले रुबेला नियन्त्रण प्रमाणीकरण २०१८ मा हासिल गरे पनि २०२० सम्म पूर्ण रूपमा दादुरा निवारणको लक्ष्य पुरा गरेको छैन । २०१९ मा दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको बैठकमा नेपाल सहित ११ देशले २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्न प्रतिबद्धता जाहेर गरेको थियो ।

प्रतिबद्धता अनुसार नियन्त्रण गर्न नसकेपछि २०२६ सम्म रोग नियन्त्रण गर्ने उद्देश्यले नेपाल भरिका खोप केन्द्रमा १ जना स्वास्थ्यकर्मीले १ दिनमा १२५ जना सम्मलाई खोप दिनु पर्ने व्यवस्था भएको छ ।

मेहताका अनुसार दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो । रुबेला पनि भाइरस रुवेला भाइरसकै कारणबाट हुने दादुरा जस्तै देखिने सङ्क्रामक रोग हो । श्वास प्रश्वासबाट सर्ने दादुराले शरीरको बाहिरी छाला र भित्र जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा सङ्क्रमण गर्दछ । दादुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता हप्तौँसम्म ह्रास पुर्याउछ ।

जुनसुकै उमेरकालाई हुने दादुराले बालबालिकामा थप सङ्क्रामक रोगहरू लाग्ने सम्भावना बढाउँछन् र गम्भीर जटिलताहरूका साथै मृत्यु समेत हुन सक्छ ।