धनकुटा : एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ टोली धनकुटा आइपुग्दा लेगुवामा फूलमाला सहित स्वागत गरिने नेकपा एमाले धनकुटा जिल्ला समितिले जनाएको छ ।

एमाले धनकुटा प्रचार विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको हो । एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले यात्रा टोली २८ गते बिहान ९ बजेतिर टोली लेगुवा आइपुग्ने बताए ।

उनले भने, ‘टोलीमा सहभागी सबैलाई फूलमाला लगाएर हामीले धनकुटा जिल्लामा स्वागत गर्छौँ ।’उनका अनुसार यात्रा टोलीको सहभागितामा लेगुवा, पख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएका छन् । वसन्तपुर पुगेपछि त्यहाँ वृहत् आमसभा गरिनेछ ।

लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछ । अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि तय गरेका छन् ।

यसैबिच नेकपा एमालेको समृद्धिको यात्रालाई अवरोध गर्न लक्ष्यीत गरी घुर्मी देखि लेगुवा घाट सम्मको मध्य पहाडी लोक मार्ग बन्द आव्हान गरेकोमा पूर्व मन्त्री गोपाल किराँती सहित ९ जना पहिचानवादी नेताहरू प्रहरीले पक्राउ गरेको प्रदेश न १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज मङ्गलवार विज्ञप्ति मार्फत जनाएको छ ।

पक्राउ गरिएका पहिचानवादी अन्य नेताहरूमा जसपा नेता राजेश राई, हलेसी तुवाचुङ युवा सह संयोजक गन्धमान राई, विजय राई, नुनथलाबाट दिम राई, भोजपुरबाट किरात राई यायोख्खा जिल्ला अध्यक्ष बिदुर राई, जसपा प्रदेश सदस्य मिना राई, जसपा जिल्ला सदस्य दिनेश राई, युवा इन्चार्ज पवन राई छन् ।