भद्रपुर : रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यालयलाई खेल सामग्री प्रदान गरेको छ ।

प्रतिष्ठानले बुधवार झापा गाउँपालिका-२ सडकबारीस्थित जुडो प्राविका ३० जना छात्रछात्रालाई न्यानो कपडा (स्विटर) र विद्यालयलाई खेल सामग्री प्रदान गरेको हो । त्यस्तै, स्थानीय १५ जना ज्येष्ठ नागरिकलाई बर्को वितरण गरिएको संस्थाका अध्यक्ष गङ्गाप्रसाद ओलीले जानकारी दिए । आफूहरूले समाजबाट धेरै कुरा प्राप्त गरेकाले समाजमा आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने ध्येयका साथ न्यानो कपडा र खेल सामग्री वितरण गरिएको उनले बताए ।

जुडो प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि अञ्जुदेवी थपलियाले ब्यानर वाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक गोपाल गणेशले गरेका थिए भने कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता कल्पना खड्काले गरेकी थिइन ।

प्रमुख अतिथि थपलिया, प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गङ्गा कोइराला, झापा जिल्ला जुडो सङ्घका अध्यक्ष पृथ्वीविक्रम राई, वडाध्यक्ष हिमाल चम्लागाईं, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, प्रतिष्ठानका सचिव नारायणप्रसाद ओली, कोषाध्यक्ष यज्ञराज (गोपाल) ओली, संरक्षक सदस्य शारदा ओली, गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन ढकाल, भुपेन्द्रबहादुर कटुवाल, निलम माझी, टेकबहादुर कार्की, रामबहादुर खड्का, जगबहादुर खड्का लगायतको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, प्रतिष्ठानका पदाधिकारी लगायतले न्यानो कपडा र खेल सामग्री वितरण गरेका थिए । बढ्दो जाडोका समयमा न्यानो कपडा पाएपछि विद्यार्थी र ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।