धरान : अग्रज पत्रकार पछिल्लो समय सामाजिक अभियानमा क्रियाशील अभियन्ता महेश श्रेष्ठलाई सिद्धि नेवा: परिषद्ले पत्रकारिता सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ ।
परिषद्को १७ औँ वार्षिकोत्सवको अवसर तथा संस्थाका दिवङ्गत दाता सिद्धिमान एवं गङ्गालक्ष्मी पलिखेको १६० औँ जन्मजयन्तीमा पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रलाई योगदान पुराए बापत पत्रकार श्रेष्ठलाई शिक्षा सेवी चन्द्रप्रसाद श्रेष्ठबाट स्थापित २१ हजार राशिका पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । 
२०४५ सालदेखि पत्रकारिता क्रियाशील श्रेष्ठ छापा पत्रकारिता, विद्युतीय माध्यमका रेडियो, टेलिभिजनमा, अनलाइन मिडियाहरूमा संवाददातादेखि प्रधान सम्पादक रही कार्य गरेका छन् । अहिले पनि पत्रकारिताको माध्यमबाट विकृति विसङ्गतिका विरुद्ध सामाजिक अभियान चलाई रहेका छन् ।
सोही अवसरमा ‘प्रबोध’ साप्ताहिककी सम्पादक/प्रकाशक जमुनादेवी श्रेष्ठलाई १५ हजार रुपैयाँ सहित पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । गत: आइतबार धरान-७ स्थित परिषद् भवनमा आयोजित वार्षिकोत्सवमा २ समाजसेवीलाई सम्मानित गर्नुका सार्थ विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरूमा समाजसेवी राधादेवी श्रेष्ठ, नेवा: सांस्कृतिक अभियन्ता विराटनगरका गणेश बज्राचार्य छन् । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरियो । वार्षिकोत्सवमा नेवा: समुदायका विद्यार्थीहरू गत वर्षको एसइईमा उत्कृष्ट अङ्क ल्याउने ६ जना, प्लस टु उत्तीर्ण ७ जना र इन्जिनियरिङमा उत्कृष्ट अङ्क ल्याउने ५ जना समेत १८ जनालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
वार्षिकोत्सवका प्रमुख अतिथि बिपी प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्राध्यापक डा. विक्रम प्रसाद श्रेष्ठ थिए । उनले भने ‘राज्यले दिने सम्मान र वितरण गर्ने पदक राजनीतिक स्वार्थ मिश्रित र नातावाद कृपावादको हाली मुहाली हुने भएकाले महत्त्वहीन र आलोच्य हुने गरेको छ ।’ सामाजिक संस्थाहरूले गरेको सम्मान र प्रदान गरेको पुरस्कार नै सानो भएपनि बढी सम्मानयोग्य र गर्व गर्न लायक हुने उनले बताए ।
प्राडा. श्रेष्ठले बिपी प्रतिष्ठानको विकास नहुनु र दुर्गतिमा फस्नुको प्रमुख कारण धरानका राजनीतिक दलहरूको पहुँच केन्द्रसम्म पुग्न नसक्नु र स्वार्थमा रुमल्लिनु भएको बताए ।
सिद्धि नेवा: परिषद्का अध्यक्ष राज विमल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम महासचिव मोहन श्रेष्ठले सञ्चालन गरेका थिए । निवर्तमान अध्यक्ष गोकुलप्रसाद श्रेष्ठले स्वागत मन्तव्यमा संस्थाले समाजसेवा र नेवा: संस्कृति र परम्पराको जगेर्ना गर्दै आएको बताए । कार्यक्रम संयोजन कार्य समितिका सदस्य तुलसी प्रसाद श्रेष्ठले गरेका थिए ।
patrakarita samman 2